Breaking

काठमाडौ झर्यो मुस्ताङ, मनै लोभ्याउने संस्कृतिदेखि स्वादसम्म, हेर्ने र खानेको भिड (भिडियोसहित)


काठमाडौँ— पर्यटकीय गन्तव्य मुस्ताङको मौलिकता झल्किने पहिलो मुस्ताङ फेष्ट समापन भएको छ । मुस्ताङको संस्कार संस्कृतिको संरक्षण सहित प्रवद्र्धन एवंम प्रचार गर्ने उदेश्य सहित आयोजित फेष्टकले समग्र मुस्ताङलाई गन्तव्य पारखीमाझ पु¥याएको छ ।

दृश्यमा देखिएको यो नृत्य लामागुरी नृत्य हो । मुस्ताङको तेताङ क्षेत्रमा यो नृत्य विशेष मानिन्छ । यो नृत्य मुख्यत बर्षमा एक पटक ल्होसार अर्थात नयाँ बर्ष र यस्तै विशेष समारोहहरुमा प्रस्तुत गरिन्छ । गाउँमा हरेक वर्ष यो नाच नाचिन्छ । तर अध्ययन रोजगारी विभिन्न शिलशिलामा काठमाडौ आएका काठमाडौमै बस्दै आएका मुस्ताङबासीका लागि यस्तो नृत्य गर्ने अवसर मौका विशेषले मात्र जुर्छ । ‘मुस्ताङ फेष्ट’ले जुराएको अवसरमा तेताङको महत्वपूर्ण नृत्य लामागुरी काठमाडौमा देखाउन पाउँदा तेताङका स्थानीय हर्षित छन् ।

गाउँ विशेष नै प्रस्तुत भएका नृत्यमा मुस्ताङको मौलिकता नझल्किने कुरै भएन । अझ स्थानीय उत्पादन र स्थानीयवासीको सीपको प्रर्दशनले धेरैको ध्यान तान्न सफल भयो । आफ्नो घर र गाउँटोलमा सीमित महिलाहरु किट्टी बुन्ने सीप काठमाडौमा बेच्ने र बुन्न व्यस्त थिए । आफ्नो उत्पादन र सीपकलाले काठमाडौंमा बजार पाउँदा बढो दंग देखिएका उनीहरुले मुस्ताङको आलु ,याकको सुकुटी, दाल, फापरको पिठोदेखि स्याउ र स्याउबाट बनेका थरीपरीका परिकार पस्किरहेका भेटिए । हिमाली भेगको उत्पादनलाई संघिय राजधानी झारेर देखाउन र चखाउन पाउँदा हर्ष विभोर भएका उनिहरु भन्दै थिए, यसले बजार मात्रै हैन, हाम्रो रिती तिथी र रहन सहनलाई पनि शहर सम्म ल्याएको छ ।

धार्मिक साँस्कृति एवंम भौगोलिक विविधताले भरिपूर्ण मुस्ताङमा गाउँ विशेष पनि आ–आफ्नै विशेषता छ । मुस्ताङ धार्मिक एवंम साँस्कृतिक हिसावले समेत सम्पन्न छ । परम्परागत र धार्मिक नृत्य, संगीत, कला प्रदर्शनी र खानाका अनुभवहरु काठमाडौमा बाँड्न यो खालको कार्यक्रम आयोजना गरिएको आयोजकहरुको भनाई छ ।

उजाड पहाड, हिमाली हावापानी, संस्कृति स्थानीय जीवनशैली, हजार्रौ वर्ष पुराना पुरातात्विक गुम्बा, गुफाहरु, मुक्तिनाथ मन्दिर जस्ता धार्मिक एवंम पर्यटकीय स्थल मुस्ताङका आकर्षण हुन । विश्वको महत्वपूर्ण गन्तव्यहरुमध्ये मुस्ताङ सूचिकृत हुँदै आएको छ । यसले मुस्ता घुम्न मात्रै हैन, सिक्न पनि जानु पर्ने ठाउँको रुपमा दर्ज हुँदैछ भन्ने सन्देश दिएको छ ।