Breaking

देउवा तर्साउने प्रचण्ड अस्त्र, सरकार ढाल्न माधव अघि सार्दै कांग्रेस, जोगिन अर्को फायल खोल्दै प्रचण्ड (भिडियोसहित)


काठमाडौंँ— प्रधानमन्त्री पुष्पकमल प्रचण्डको सत्ता जबजब संकटमा पर्छ तबतब विभिन्न अस्त्र तेस्र्याउने गरेका छन् । बाँसबारी छाला–जुत्ता उद्योगको जग्गा हडप्ने सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीको पक्राउलाई सांसद विनोद चौधरीसम्म जोडेर हेरिँदा प्रचण्डले अर्को अस्त्र प्रयोग गरेका छन् ।

व्यवसायीक रुपमा चौधरी ग्रुपको एकछत्र राजमाथि लुकेको सत्ता र शक्तिको आडमा भएको गैरकानुनी दादागिरीमाथि डण्डा चलाएर सरकारले फेरि आफ्नो शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको बाँसबारीमा १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ परेका छन् । सरकारी सम्पत्तिमाथि राइँदाइँ गरेको सीजीमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको हो । यो सरकारको शाहसिक कदममाथि पनि अनेकन राजनीतिक प्रश्नको खोजी गर्न थालिएको छ । अर्थात, जबजब प्रचण्डको सत्ता संकटमा पर्ने गरेको छ तबतब उनले यस्ता अस्त्र फाल्ने गरेका छन् ।

माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचन पनि आफूहरु जहिल्यै गठबन्धनमा इमान्दार देखिँदा कांग्रेसले भने माओवादीलाई पटक–पटक धोका दिने गरेको माओवादीले बताउँदै आएको थियो । बाँसबारीको फाइल खोलेर माओवादीले आफूमाथिका सबै धोकाको भर्पाइ गरेको छ । त्यसमाथि प्रचण्ड नेतृत्वको सरकारविरुद्ध पछिल्लो समय कांग्रेसी आवाज बलियो बन्दै गएको छ । त्यही चिढिँदै गएको कांग्रेस तर्साउन प्रचण्डले यो अर्को कार्ड फालेका हुन् भन्नेमा दुई मत छैन । किनकी यही बिचमा कांग्रेसका शीर्ष नेताहरुबाटै पटक–पटक प्रचण्ड नेतृत्वको सरकार तत्काल ढालेर माधवकुमार नेपाललाई कुर्सीमा बसाल्नुपर्ने बताउँदै आएका थिए ।

गत वर्ष पुषमा एमालेको जस्केलोबाट कांग्रेसको पोल्टामा पुगेका प्रचण्डले प्रतिपक्षी एमाले तर्साउन बिभिन्न गिरीबन्धु लगायतका कैयन फाइल घोल्ने घुर्की देखाएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी अहिलेपनि कस्टडीमै छन् । प्रचण्डविरुद्ध खरो देखिएका कांग्रेग सांसद सुनील शर्मालाई पनि सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गरेको थियो । त्यसबेला शर्माले सरकारलाई आतंकारीकै संज्ञा दिएका थिए ।

उनी शेखर कोइराला पक्षका भएकै कारण देउवालाई खासै फरक परेन । तर अरुण पक्राउ पर्दा भने सांसद समेत रहेका विनोद चौधरी नै तानिने मजबुद सम्भावनाले भने देउवासँगै समग्र कांग्रेस वृत नै झस्किएको छ । किनभने विनोदको नाममा समेत २ हजार कित्ता सरकारी जग्गा नामसारी भएको तथ्य फेला परेको प्रहरी स्रोतको दाबी छ । देउवाले कांग्रेसको कोषाध्यक्षको चाबी चौधरीलाई नै सुम्पिने चर्चाका बिच चौधरीपनि भूमाफियाको खेलमा देखिने भएपनि देउवा तनावमा छन् । यस बिषयले पार्टी संसदीय दलको बैठकमै स्थान पाएको छ ।

यसअघिका प्रचण्डका गतिविधि हेर्दा भ्रष्टाचारका फाइलहरु जुन रफ्तारमा खोले त्यही रफ्तारमा आफ्ना पर्न थालेपछि बन्द भए । त्यसबेला पनि उनले कांग्रेस तर्साउनकै लागि ती फाइल खोलेका थिए । बालकृष्ण खाणको जेल यात्रालाई पनि त्यसैको निरन्तरताका रुपमा लिन सकिन्छ । त्यबेला पनि सरकारविरुद्ध कांग्रेसी स्वर दबेका थिए । तर, एनसेल प्रकरणमा छानविन समितिले सरकारलाई प्रतिवेदन बुझइसकेको छ । आफूर आफ्नै परिवार समेत जोडिएके त्यस घटनाका दोषीहरुलाई कानुनी कठघरामा उभ्याउनुको साटो नयाँ फाइलमा हात हुल्नुले भने सरकारको नियतमाथि प्रश्न उठेको छ । जानकारहरु भने यसलाई चलिरहेका प्रकरण दबाउने प्रपञ्चका रुपमा बुझ्छन् ।

गत वर्षको आम निर्वाचनपछि गठबन्धनमा सराकरको नेतृत्वबारे सहमति भएको थियो । जसमा पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपाल पालैपालो प्रधानमन्त्री बन्ने उल्लेख थियो । यद्यपि कांग्रेसकै नेताहरु प्रचण्ड नेतृत्वको सरकारको ११ महिना बाँकी छदै सरकारको विकल्प खोज्न थालेपछि प्रचण्ड झस्किएका हुन् । कांग्रेसका नेताहरुले नै सरकारको स्टेरिङ माधवको हातमा पिदनुपर्ने अभिव्यक्ति दिइरहेका छन् । तर माधव भने पर्दा पछाडीको रहस्य पर्दा पछाडी नै रहन दिन आग्रह गर्छन ।

यीनै अवस्थालाई हेरेर प्रचण्ड आफ्नो सत्ता असुरक्षित भएको पो हो कि भन्ने शंशयमा छन् । गठबन्धनकै सहकर्मी तर्साएर सकेसम्म पाँचै वर्ष नभए सहमतिमा पाएको दुई वर्ष प्रधानमन्त्रीमा घिस्रिने दाउमा प्रचण्ड छन् । यहि बिचमा सेफ ल्याण्डिङका लागि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन् । प्रचण्डको पछिल्लो कदम इतिहासमै शाहसिक भएपनि विनोद चौधरीको बचाउका लागि भाइ मात्रै पक्रिएको गाइगुइ चल्न थालेको छ । यदि यही गाइगुइ सत्य हो भने यो प्रकरण पनि फासफुस हुनेछ । यदि त्यसो भए प्रचण्डले सत्ता जोगाउनकै लागि आफ्ना नेता र परिवार नै जोडिएका ठूला काण्डको कारवाही छाडेर नयाँ फाइलमा हात हालेको प्रष्ट हुनेछ ।