Breaking

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीले भने–कानुन विपरीत भए जग्गा फिर्ता गर्छु


काठमाडौँ – बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीले प्रहरीसमक्ष बयान दिँदै कानुन विपरीत भए जग्गा फिर्ता गर्ने बताएका छन् ।

सरकारी वकिलको रोहबरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका हुन् ।

सीआईबी टोलीले बिहीबार पक्राउ गरेका उनलाई शुक्रबार दिनभर बयान लिइएको थियो । त्यसक्रममा चौधरीले आफूले सबै काम कानुन अनुसार नै गरेको बताएका थिए । यदि कानुन विपरीत हो भने आफू जग्गा फिर्ता गर्न तयार रहेको बताएका अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शुक्रबार पत्रकार सम्मेलन गरेर तीन महिना लामो अनुसन्धानपछि चौधरीले १० रोपनी जग्गा हिनामिना गरेको देखिएको दाबी गरेको थियो । ब्यूरोले संकलन गरेको कागजात र प्रमाणका आधारमा उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको एसएसपी दिनेश आचार्यले बताएका छन्