Breaking

चौधरीलाई ठोक्ने ताकत भएकी एआईजी किरण, विनोदलाई तर्साउन अरुण चौधरी पक्राउ, राष्ट्रपति किन सक्रिय ?


काठमाडौँ – बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा सीआईबीले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । उनीसहित तत्कालीन कार्यकारी प्रमुख अजितमानसिंह थापासमेत पक्राउ परेका छन् । अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

चौधरी ग्रुप अन्तर्गतको सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी विहीबार सीआईबीको फन्दामा परे । १० रोपनी सरकारी जग्गा निजी बनाएको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो ।

प्रहरीको पञ्जामा परेपछि अनुहारसमेत लुकाएर प्रस्तुत भएका अरुणलाई सीआईबीले सरकारी वकिल हुँदै जिल्ला अदालत काठमाडौंमा उपस्थित गरायो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप महंगो परेपछि अरुणसँगै तत्कालीन कार्यकारी प्रमुख अजितमानसिंह थापासमेत पक्राउ गरेका छन् ।

एमाले हुँदै कांग्रेस पसेर संविधानसभा सदस्य हुँदै सांसद बनेका अर्बपति व्यापारी विनोद चौधरीका भाइ हुन्, अरुण चौधरी । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपले बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा आफ्नो नाममा बनाएर चाँदबाग स्कुल चलाइरहेको थियो । यो १० रोपनी सरकारी जग्गा अहिले ‘सीजी चाँदबाग रेसिडेन्सी प्रालि’को नाममा छ । चाँदबाग स्कुल अरुणले यही कम्पनीबाट चलाइरहेका छन् । अरुण सदस्य रहेको यो कम्पनीको अध्यक्ष सञ्जय ठाकुर छन् । जो अरुण अध्यक्ष रहेको सीजी होल्डिङ्सका महाप्रबन्धक हुन् । विभिन्न कालखण्डमा दरबारदेखि प्रधानमन्त्री हुँदै मन्त्री र कर्मचारीसम्मलाई मिलाएर सरकारी सम्पत्ति कब्जा गरेको आरोपमा केही तथ्यसमेत भेटाएपछि विहीबार सीआईबीले पक्राउ गरेको हो । उनीहरुलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ ।

२०२० सालमा चीन सरकारको अनुदान सहयोगमा स्थापित यो कारखाना त्यस बेलाको उद्देश्यअनुसार चलेको भए सम्भवतः यतिबेला देशकै गौरव गर्न लायक उद्योग बनेको हुन्थ्यो । तर ६० वर्ष पाको उद्योग राजनीतिक चलखेलका कारण बन्द भएर व्यक्तिको कब्जामा परि कमाई खाने भाँडो बन्यो । यो विषयमा १५ महिनाअघि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । तर अख्तियार रोकिँदा अनुसन्धान अघि बढेन । तीन महिनादेखि अनुसन्धान थालेको सीआईबीले भने विहीबार पक्राउ गरेको हो ।


अब अरुणसँगै विनोद चौधरीलाई समेत अनुसन्धानको दायरामा ल्याउने तयारी सीआईबीले गरेको छ । विनोद चौधरीका नाममासमेत पक्राउ पुर्जी जारी भएको विषय सार्वजनिक भए पनि पुष्टि हुन सकेको छैन । तर सीआईबीको नेतृत्वमा रहेकी एआईजी किरण बज्राचार्यले ठूलै आँट देखाएर चौधरी ग्रुपलाई कारबाहीको दायरामा ल्याउने ताकत गरेकी छन् । सम्भवतः राजनीतिक नेतृत्वको दबाब नपर्दा चौधरी समूहले निलेको १० रोपनी जग्गा फिर्ता हुनेछ । तर अहिल्यैबाट राष्ट्रपति कार्यालयदेखि राजनीतिक संयन्त्र सशंकित बन्दै परिचालित भएको विषयले कारबाही हुने विषयमा शंका उत्पन्न भएको छ । अरुण र अतिजमान पक्राउ पर्ने वित्तिकै राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनील थापा सीआईबीमै पुगेर दबाब दिएको विषय सार्वजनिक भएको छ ।