Breaking

बाँसबारी जग्गा प्रकरणः थप एक जना पक्राउ


काठमाडौँ — बाँसबारी छाला जुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुरलाई पनि पक्राउ गरेको हो । उनी बाँसबारी छाला जुत्ता कारखानाको सञ्चालक समितिको अध्यक्ष रहेको र जग्गा घोटालामा संलग्नता पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ । ठाकुरको स्थायी ठेगाना महोत्तरी भएको बताइएको छ ।

सोही प्रकरणमा प्रहरीले चौधरी ग्रुपका एक सदस्य तथा सिजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापालाई पनि पक्राउ गरिसकेको छ ।

थापा नेतृत्वको तत्कालीन सञ्चालक समितिको निर्णयअनुसार चौधरी ग्रुपका अरुण चौधरीले १० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भएका थिए । यो प्रकरणमा अनुसन्धान गर्न तीन महिना अगाडि सीआईबीले एसपी होविन्द्र बोगटीको नेतृत्वमा एक कमिटी गठन गरेको थियो । सोही कमिटीले अनुसन्धान गर्दा उनीहरू दोषी पाइएपछि पक्राउ गरेको हो । उनीहरुविरुद्ध किर्ते, ठगी र सरकारी सम्पत्ति हिनामिनामा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिन लागेको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्षसहित ४८ जना स्थानीयको उजुरीको आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको बताइएको छ । वार्षिक १० लाख जुत्ता उत्पादन गर्ने सर्तमा तत्कालीन ‘च्याम्पियन फूटवेयर लिमिटेड’ खोलेको चौधरी समूहले केही वर्षपछि १० रोपनी जग्गालाई आफ्नो निजी बनाएको आरोप छ ।