Breaking

प्रचण्डविरुद्ध कांग्रेस–एमाले एक– यो सरकार फाल्ने समय भइसक्यो, प्रचण्डको दाबी– मैले इतिहास रचे (भिडियोसहित)


काठमाडौँ— सरकारले पछिल्लो समय चालेका साहसिक कामका कारण जनतामा केही आश जागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । तर, हुटहुटीमाथि हुटहुटी मात्रै थप्ने प्रचण्डले कार्यशैली भने फेर्न सकेका छैनन् । सत्ता र प्रतिपक्षी दुवैले प्रचण्ड सरकारबाट केही आशा गर्नै नसक्ने निष्कर्ष निकालिरहँदा प्रचण्ड भने आफैँ आत्मरतिमा रमाइरहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत पुस १० गते आफ्नो तेस्रो कार्यकालको वर्ष दिन पुगेको उपलक्ष्यमा आत्मसमीक्षा गर्दै अबको एक महिनामा नै सरकारले केही गरेको संकेत देखिने घोषणा गरेका थिए । बितेको एक वर्षमा सोचेअनुसारको काम गर्न नसकेको स्वीकारेका प्रचण्डले अबदेखि नयाँ ढंगले काम गर्ने र मन्त्रीदेखि प्रशासनिक सबै निकायलाई सही ट्रयाकमा ल्याउने प्रतिबद्धता जनाएका थिए । मन्त्री र कर्मचारीलाई मात्रै नभई आफू पनि राजधानी बाहिर जानु परेको अवस्थामा वा अत्यन्त जरुरी अन्य कुनै काम परेकोबाहेक हरेक दिन १० बजे नै सिंहदरबार पुगेर काम गर्ने योजना सुनाएका थिए ।

तर, उनले त्यो योजना एक दिनभन्दा बढी कार्यान्वयन गर्न त सकेनन् नै साना तिना कार्यक्रममा गएर समय खेर नफाल्ने र उद्घाटनमा नजाने उद्घोष गरेको बाचाबाट पनि विमुख हुँदै गएका छन् । आफ्नो इच्छाशक्ति र हुटहुटीमा मन्त्रीदेखि कर्मचारीसम्म बाधक देख्ने उनले पटक पटक बोली फेरे पनि कार्यशैली भने फेर्न सकेका छैनन् । यसका बाबजुद उद्घाटन र समारोहमा रिबन काट्ने उनको दैनिकीमात्रै बनेन कि चार गुणासम्म बढ्यो । माघ १ गते एकैदिन उनले चार कार्यक्रममा सहभागिता जनाएका थिए । यद्यपि अब एक महिनाभित्रै सुध्रिने बाचा गरेका प्रचण्डले रिबन काट्न त छोडेका छैनन् । बरु उनी अहिलेको सरकारले इतिहासले सम्झिने गरि जनपक्षीय काम भएको दाबी गरिरहेका छन् । बुधबारमात्रै पनि एउटा कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो सरकारले गरेको साहसिक कामका कारण अब चाहि केही हुन्छ भत्रे आशा जनतामा पलाएको भन्दै आफ्नै प्रशंसामा रमाए ।

प्रचण्डले वर्ष दिनदेखि सम्भावना देख्ने र गल्ती सुधार्नु पर्ने महसुस मात्रै गरिरहेका छन् । उनले भनेको जस्तै नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन प्रकरण र एनसेलको फाइल त खुलेको छ । तर कसको दबाबमा कहाँ गएर अड्किएको छ आम नागरिकलाई अत्तोपत्तो छैन । अरुलाई गाली गरेकै भरमा जनताको निराशा नचिरिने भन्दै प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रचण्डप्रतिको कटाक्ष निरन्तर छ । अहिलेको सरकार न जनताको हुन सकेको छ न त राष्ट्रको भन्ने एमालेको ठम्याई छ । वर्तमान सरकारसँग राष्ट्रिय हितको नेतृत्व गर्ने सामथ्र्य नै नभएको प्रमुख प्रतिपक्षीको निष्कर्ष छ ।

सरकारको विरोध गर्नु प्रतिपक्षीको धर्म नै भए पनि सत्तामा सामेल दलका नेता पनि सरकारको कामप्रति सन्तुष्ट छैनन् । सरकारले राम्रो काम गरेको भत्रे आत्मरतिमा प्रचण्ड रमाइरहँदा उनीबाट केही आशा गर्नै नसकिने सत्ता पक्षका नेताहरू नै बताइरहेका छन् । आफ्नै लक्ष्य भेटाउन नसकेका प्रचण्डले सरकारमा बसेर समय खेर फालिरहेको नेपाली कांग्रेसका नेताको टिप्पणी छ ।

भ्रष्टाचारीलाई कुनै टार र कोटले छेक्न नसक्ने भन्दै गर्जिए पनि विस्तारै टार हाबी हुँदै जाँदा सुन काण्डलाई थामथुम पारिएको छ । प्रचण्डको दुर्बल पक्षमध्ये अग्रणी स्थानमा आउने नातावादका कारण पुत्री गंगा दाहालको नाम मुछिएको एनसेल काण्ड पनि विगतकै छानविन समिति भन्दामाथि उठ्न सकेन । प्रचण्ड एक्लैले ठूलै उपलब्धि हासिल गरेजस्तो चर्चा भइरहँदा उनी बाहेकका सत्ता पक्षकै दल, प्रतिपक्ष र आम नागरिकले भने उलटपुलट हुने गरी काम भएको महसुस गर्न सकेका छैनन् ।