Breaking

आज वर्षा र हिमपातको सम्भावना, जुम्लामा बिहानैदेखि हिमपात


काठमाडौं — देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । मध्य तथा पूर्वी तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

काठमाडौंमा बिहान ५ः४५ बजेको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस रहेको छ ।

विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका केही भू–भागमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

विभागले राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एकदुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने विभागको भनाइ छ ।

यस्तै जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।

सदरमुकाम खलंगामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर आकाशे पानीको पर्खाइमा रहेका किसान खुसी भएको जिल्लाको तिला गाउँपालिमा–१ का स्थानीय बासिन्दा पार्वती बुढाले जानकारी दिइन् ।

यसवर्षको हिउँदेयामको यो पहिलो हिमपात हो । अहिले हिमपात भइरहेको छ । माघ लाग्दा पनि हिउँ नपरेपछि खडेरी लाग्ने भन्दै किसान चिन्तामा थिए । जौ र गहुँबाली लगाएका किसान भने यो हिउँले निकै राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।