समाचार

देश दौडाहामा गगन, अब प्रधानन्त्री कि सभापति ? नेता र जनताले पत्याउँलान ? देउवा शेखरलाई लाग्ला धक्का ?(भिडियोसहित)


काठमाडौँ— चुनावताका मात्र जनताको घरदैलोमा देखिने राजनीतिक दल र नेताहरु अहिले अनेक अभियान सहित पालो कुरेरै जनता समक्ष पुग्न थालेका छन । नयाँ–पुराना राजनीतिक दलबीच जनता रिझाउने प्रतिस्पर्धा नै चलेको छ । नेकपा एमाले, माओवादी केन्द्रपछि रास्वपा हुँदै सत्तारुढ दल नेपाली कांग्रेस र महामन्त्री गगन थापा आफैले संवाद यात्रा सुरु गरेका छन ।

पार्टीमा सभापति शेरबहादुर देउवाको पेलानमा पिल्सिएका कांग्रेस महामन्त्री गगन थापाले भुईमान्छेका कुरा बुईमा बोक्ने भन्दै पूर्वमेचीबाट संवाद यात्रा सुरु गरेकाछन् । यद्यपी उनको यो ढर्रा पनि नयाँ बोलतमा पुरानै रक्सी हालिएभन्दा फरक छैन । गगन भन्दा अगाडि बढेर यात्राको नाममा एमाले, माओवादी र रास्वपाले बुइकलमा घाम तापेर थकान मेटिसकेका बेला गगनले जनताको गुनासो सुन्ने भन्दै सुरु गरेको यात्रा कति सार्थक होला ? आफैमा प्रश्न छ । जनताका सुझाब भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चुवाभञ्जङबाट संकलन गरेको सुझाव बालकोटको बुईकलमा सुकाएर राखेको बेला गगन अहिले त्यही लाईनमा डायरी बोकेर गुनासो टिप्न तम्सिएकाछन् । पार्टी सरकारमा हुँदा जनताको समस्या बामे नसरेको वर्तमान अवस्थामा गगनका डायरीमा नोट भएका गुनासा कति समाधान होलान त्यो भने पर्ख र हेरकै अवस्थामा छ ।

यद्यपी समुदायमा जाऔ, जनताका कुरा सुनौ भन्ने नारा सहित सांगठनिक सुदृढीकरण, नागरिकका समस्याको पहिचान लगायतका उदेश्य बोकेर कांग्रेस, पूर्वमा होमिएको छ। भद्रपुरस्थित मेची पुलबाट सुरु भएको संवाद यात्रा मुलत जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्न सुरु गरेको महामन्त्री थापाले बताएका छन । आफूहरु भुईमान्छेको प्रतिनिधि भएको उल्लेख गर्दै पार्टी प्रतिको गुनासो सुन्न र आम समुदायको समस्या बुझ्ने यात्राको उद्देश्य भएको थापाले स्पष्ट पारेका छन ।

सत्तामा रहँदा समेत जनताको समस्या सुन्न र समस्याको समधान गर्न नसकेका सत्तारुढ दलका महामन्त्रीको संवाद यात्राको औचित्यमाथी प्रश्न तेर्सिएको छ । गगनको अभियानलाई भारतीय कांग्रेस र राहुल गान्धीको अभियानसँग तुलना गर्नेको कमी छैन । पार्टीभित्र कमजोर राहुल गान्धी जनमत मार्फत नै पार्टी सत्तालाई धक्का दिन कहिले खाली खुट्टा हिँडे, कहिले भारत जोडो न्याय यात्राको नाटक रचे भने केहि समय अघि मात्र जनसंवाद यात्रा सम्पन्न गरेका थिए । भारतीय जनता पार्टीलाई पत्तासाफ गर्ने रणनीति सहित सुरु भएको राहुल गान्धीको यात्रा मोडल प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको मेचिमहाकाली यात्रा होस् या रवि लामिछाने नेतृत्व रास्वपाको दवाव यात्रादेखि माओवादी केन्द्रको जनतासँग माआवादी अभियान खासै फरक छैन । गगन थापाको संवाद यात्रा चाँहि हुबहु नै भएकाले पनि चर्चा हुनु स्वभाविक हो ।

पार्टीभित्र पार्टीसभापति देउवासँग लड्दै आएका, आफ्नै गुटको नेतृत्व गर्ने शेखरको प्यारो हुन नसकेपछि महामन्त्री विश्व प्रकाश शर्मा, आफ्नै क्याम्पका नेता प्रदिप पौडेले च्याप्दै भर्खरै राष्ट्रिय सभामा निर्वाचित भएर राष्ट्रिय राजनीतिमा कमव्याक गरेका कृष्ण प्रसाद सिटौलालाई साक्षी राखेर सुरु गरेको व्यक्तिगत अभियान यसै आलोचित बनेको छ । संस्थापन पक्षको पेलान र आफ्नै गुटभित्र समेत केन्द्रियस्तरमा नेताहरुले नपत्याएपछि तल्लो तहमै नेता कार्यकर्ता रिझाउन, आफ्नो विरासत बसाल्न नेता कार्यकर्ताको नाडी छाम्न गगनले संवाद यात्रा सुरु गरेको टिप्पणी हुन थालेको छ । पार्टी संस्थागत रुपमा जनता समक्ष जाँदै गर्दा महामन्त्री आफै व्यक्तिगत रुपमा समेत सुरु गरेको यो अभियानलाई अनेक ढंगले विश्लेषण हुन थालेको छ ।

विगतमा चुनावताका मात्र जनताको घरदैलोमा पुग्ने नेताहरु पछिल्लो समय आफ्नो पालो कुरेर घरदैलो अभियानमा छन । राजनीतिक दल र नेताहरु आलोपालो गरेर जनतामाझ जानु भने आफैमा राम्रो पक्ष हो । आफ्नो स्वार्थका लागि नै सहि जनताको घरदैलो र देश दौडाहलाई सकरात्मक रुपमा लिन सकिन्छ । राहुल गान्धीको देश दौडाहले भाजपा भगाउन नसके पनि भारतमा नरेन्द्र मोदीको देशदौडाहले कांग्रेसको विरासत भत्काएको इतिहास धेरै पुरानो होइन । कांग्रेसको देश दौडाहले आगामी चुनावमा अन्य दललाई धक्का दिन कति सफल होला ? चासोका विषय बनेको छ ।