Breaking

प्रतिकुल मौसमले धनगढीको हवाइ सेवा दुई दिनदेखि अवरुद्ध


काठमाडौँ— बाक्लो हुस्सु लागेकाले धनगढी विमानस्थलबाट शुक्रबारदेखि हवाइ उडान अवरुद्ध भएको छ ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहका अनुसार शुक्रबार बिहान श्री एयरलाइन्सको विमान काठमाडौं उडेपछि अन्य उडान अवतरण हुन सकेको छैन ।

‘एक हजार मिटरको भिजिविलिटीमा धनगढीबाट विमान उडाउन मिल्ने भएकाले श्रीएयरको विमान हिजो काठामाडौंका लागि उडेको हो’, सिंहले भने, ‘अवतरण गर्न १७ सय मिटरको भिजिबिलिटी चाहिन्छ । हुस्सु र कुहुरोले कम भिजिबिलिटी हुँदा सेवा प्रभावित भएको छ ।’

मौसम नखुलेपछि श्रीएयरलाइन्सका दुई र बुद्ध एयरका चार वटा उडान प्रभावित भएका छन् । काम विशेषले हवाइ यात्रा गर्नुपर्नेहरु समस्यामा परेका छन् । धनगढीसहित पश्चिम तराईमा केही दिनदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन समेत प्रभावित भएको छ ।