Breaking

अभियुक्तलाई भगाउने एक आरोपीलाई १६ वर्षपछि पक्राउ


काठमाडौं — उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले प्रहरी हिरासतबाट अभियुक्तलाई भगाउने एक आरोपीलाई भारतको कोलकाताबाट पक्राउ गरेर ल्यायो ।

आज मिनभवनमा पत्रकार सम्मेलन गरेर एसएसपी सोमेन्द्रसिंह राठौरले ११ माघमा पूर्वप्रहरी जवान समेत रहेका विरवल राय यादवलाई पक्राउ गरिएको सुनाए । सेवामा रहेकै बेला उनले २०६४ सालमा लागूऔषध मुद्दामा हिरासतमा रहेका एक भारतीय नागरिकलाई भगाएका थिए । त्यसपछि आफू पनि भागेका थिए ।

अहिले जसले पनि गल्ती गर्‍यो भने नेपाल पुलिसले नछाड्ने रहेछ ।’ उनले आफूलाई प्रहरीले यत्तिका वर्षपछि समात्ला भन्ने नलागेको बताए । ‘प्रहरीले जहाँदेखि पनि ल्याउन सक्छ, त्यसैले कसैले यस्तो काम गर्नु हुँदैन’, उनले बोल्दा बोल्दै प्रहरी अधिकृतहरुले उनलाई बाहिर निकाले ।

एसएसपी राठौरका अनुसार, महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई उनले २०६४ सालमा भगाएका थिए ।

रौतहटको पथरावुधराम–३ घर भइ काठमाडौं प्रहरीको हिरासत कक्षमा कार्यरत जवान यादवले नक्कली चिट बनाएर फिल्ड अधिकृत (इन्स्पेक्टर) ले बोलाएको भन्दै आलमलाई हिरासत कक्षबाट बाहिर निकालेका थिए । त्यसपछि उनलाई लिएर आफू पनि भारततिर भागेको अनुसन्धानबाट खुलेको थियो ।

त्यसवापत उनले तत्कालीन समयमा ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए । त्यो रकमबाट यादवले भारतको कलकत्तामा दुईवटा ट्याक्सी खरिद गरी चलाउन सुरु गरेको पाइएको प्रहरीले जनाएको छ ।

अहिले उनीसँग नौ वटा ट्याक्सी, भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत रहेको प्रहरीले जनाएको छ । उनी भारतको कलकत्तामा श्रीमतीसहित बसोबास गर्दै आएका थिए ।