खेलकुद

पाँचौं खिजिदेम्बा म्याराथन फागुन १९ मा


काठमाडौँ – ओखलढुंगामा फागुन १९ गतेबाट पाँचौं खिजिदेम्बा अल्ट्रा फुल म्याराथन हुने भएको छ । ओखलढुंगा टुरिजम डेभलोपमेन्ट कमिटीको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको सह–आयोजनामा पाँचौं खिजिदेम्बा अल्ट्रा फुल म्याराथन ४२ किलोमिटर हुने भएको हो ।
खिजिदेम्बा गाउँपालिका वडा नं। ५ खिजिफलाटेबाट सुरु हुने प्रतियोगिता चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा, ताक्लुङ, लामुजे, बुलबुले, फाक्से, टुक्सिन्दो मैदाने दोराखार्क, रिपल ताउर, चुप्लुङ भञ्ज्याङ, दोब्रे भञ्ज्याङ मेले गुम्बा हुँदै खिजिफलाटे बजार आएर सम्पन्न हुने ओखलढुंगा टुरिजम डेभलोपमेन्ट कमिटीका कोषाध्यक्ष कुङ्गा शेर्पाले जानकारी दिनुभयो ।
खेलकुदबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्यकासाथ दौड प्रतियोगिता आयोजना गरिएको शेर्पाले बताउनुभयो ।

प्रतियोगिता फागुन १९ गते शनिबार सुरुभई सोही दिन सकिने बताउनुभयो । प्रतियोगितामा अन्तराष्ट्रिय धावकहरु, तथा स्थानीय धावक गरि सय भन्दा बढीको सहभागीता रहने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन ईच्छुक राष्ट्रिय तथा स्थानीय धावकहरुलाई नाम दर्ताको लागि १५ सय र विदेशी धावकहरुलाई १०० अमेरीकी डलर तोकिएको छ । धावकहरुले फागुन १८ गते बेलुका ६ बजेसम्म नाम दर्ता गराईसक्नुपर्नेछ ।


म्याराथन प्रतियोगितामा प्रथम, द्धितिय, तृतीय र सान्तवना स्थान प्राप्त गर्ने धावकहरु महिला, पुरुष दुवैतर्फ रु.७० हजार, ६० हजार, ५० हजार र २५ हजार प्रदान गरिनेछ । त्यस्तै स्थानीय धावकहरुको हकमा प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गर्ने महिला, पुरुष दुवैतर्फ धावकहरुलाई २० हजार, १५ हजार र १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।