Breaking

बालेनको नजर न्युरोडमा, व्यापारीलाई आपत


काठमाडौँ – सहरी सौन्दर्य र पैदलयात्रुको सहजतालाई लक्षित गर्दै एकपछि अर्को योजना अघि बढाएको काठमाडौं महानगरपालिकाले मंगलबारदेखि काठमाडौंको न्यूरोड क्षेत्रको कालोपत्रे सडक किनारमा पार्किङ निषेध गरेको छ । महानगरपालिकाले सवारी–साधन पार्किङ निषेधसहित सरसफाइ अभियान चलाउँदा व्यवसायीहरु भने विरोधमा उत्रिएका छन् । न्यूरोड क्षेत्रका व्यवसायीहरुले व्यापारमा असर पर्ने भन्दै सटर नै बन्द गरेर महानगरको निर्णयविरुद्ध प्रदर्शन सुरु गरेका हुन् ।

पैदलयात्रुहरूको सुविधा र सहरी सौन्दर्य लक्षित गर्दै एकपछि अर्को योजना कार्यान्वयनमा सक्रिय काठमाडौं महानगरको नजर न्यूरोड क्षेत्रमा परेको छ । अस्तव्यस्त न्यूरोड क्षेत्रलाई व्यवस्थित गर्न महानगरले मंगलबारदेखि न्यूरोडको कालोपत्रे सडक किनारमा पार्किङ निषेध गरेको छ । सवारी–साधन पार्किङ निषेधसँगै सरसफाइमासमेत जोड दिइएको छ । यसअघि नै फुटपाथ व्यापार बन्द गरेको महानगरले पार्किङ निषेधसँगै यी क्षेत्रमा सटरसँगै सडककोसमेत विशेष सरसफाइ योजना अघि बढाएको छ । तर विडम्बना न्यूरोडका व्यवसायीहरुलाई महानगरको यो नियम पटक्कै मन परेका छैन । पार्किङ हटाएपछि व्यापारमा असर पर्ने भन्दै व्यवसायीहरु बालेनविरुद्ध विरोधमा उत्रिन थालेका छन् । मंगलबार सटर–पसल बन्द गरेर व्यापारीहरु सडकमा उत्रिए । महानगरलाई घुँडा टेकाई छाड्ने पक्षमा व्यवसायीहरु छन् । सकेसम्म पार्किङ गर्न दिनुपर्ने नभए उचित विकल्प दिनुपर्ने उनीहरुको माग छ ।

यसअघि महानगरभित्र फुटपाथ व्यापार बन्देज लगाएपछि सडक व्यापारीको आँखाको तारो बनेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह अहिले सटरमा व्यवसाय गर्ने व्यवसायीहरुको समेत निशानामा परेका छन् । फुटपाथ व्यापारीले सडक हुँदै अहिले महानगर नै घेर्दै आइरहेका बेला मुख्य व्यापारीक क्षेत्र न्यूरोडकै व्यापारीहरु पनि बालेनको विरोधमा उत्रिएका छन् । व्यवसायीहरु विरोधमा उत्रिए पनि बालेनको यो निर्णयलाई स्थानीय सर्वसाधरण र पैदल यात्रीहरुले भने स्वागत गरेका छन् ।

न्युरोड क्षेत्रमा हुने भीडभाडलाई सहज बनाउने उद्देश्यसहित काठमाडौं महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको छ । बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायतका ठाउँमा पनि महानगरले यसअघि नै पार्किङ निषेध गरिसकेको छ । महानगरले विकल्पसहित पार्किङ निषेध गरेको जनाएको छ । काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगरले जनाएको छ ।

आफ्नो हरेक योजनामा अडिग काठमाडौं महानगरको पार्किङ निषेध गर्ने योजना कम चुनौतिपूर्ण छैन । फुटपाथ व्यापारीको विरोधलाई अन्देखा गर्दै धमाधम आफ्नो योजनाहरु कार्यान्वयन गर्दै आएको महानगरले न्यूरोडका व्यवसायीहरुको विरोध समाधान गर्छ वा पेलेरै अघि बढ्छ ? त्यो भने समयले बताउला । बालेनको हरेक निर्णयलाई मौन रुपमा समर्थन गर्दै आएका सर्वसाधरणले सवारी साधन पार्किङको विषयमा महानगरले नै दिएका विकल्पहरु स्वीकार गर्छन् वा विरोध, चासोको विषय बनेको छ ।