Breaking

रविमाथि प्रहरीले थाल्यो अनुसन्धान, जीबीको घोटाला, रवि भन्छन्ः थाहा छैन


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले सहकारी घोटाला प्रकरणमा तानिएका छन् । टेलिभिजन खोल्न जीवी राईको साझेदार बनेका उनीविरुद्ध उजुरी नै परेको छ भने कारबाहीको माग गर्दै आन्दोलनसमेत भएको छ । यहीबिचमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो नै यो सहकारी घोटाला प्रकरणको अनुसन्धान सुरु गरेको छ ।

जीवी राईसहितको टोलीले गरेको सहकारी घोटाला प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तानिएको विषय पेचिलो बन्न थालेको छ । उनको नाम पनि ऋण लगानी भएको तथा ऋण खाने गोर्खा मिडिया नेटवर्ककोसमेत सञ्चालक भएकाले रवि यसमा तानिदै आएका छन् । तर उनीविरुद्ध उजुरीसमेत परेको छ भने कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले कारबाहीको माग राख्दै आन्दोलन नै गरेको छ । यसैबिच सहकारी ठगीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाएको छ । सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएपछि उनीमाथि अनुसन्धान अघि बढ्न सक्ने संकेत गत पुस १६ मा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीले गरेका थिए ।

बालकुमारी घटनामा नियतमाथि प्रश्न उठाएपछि जवाफमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘केही गर्ला कि’ भनेर रविले पहिले नै ‘खुट्टा उचालेको’ समेत टिप्पणी गरेका थिए । तर खुट्टा उचाले पनि समाइन्छ भनेका उनले भागेर कतै जान नसक्ने संकेत गरेका थिए । त्यसपछि ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेर फाइल झिकाएका थिए । जीबी राई अध्यक्ष रहेका विभिन्न सहकारीमार्फत् भएका ठगीका सम्बन्धमा सम्बन्धित जिल्लाबाट फाइल मगाएर अनुसन्धान भइरहेको ती अधिकृतले जानकारी दिएका छन् । हुन त रवि जोडिएको विषय यसअघिबाटै मिडियामा आएका थिए । तर गृहमन्त्रीको निर्देशन अघिसम्म यो सहकारी घोटालाको अनुसन्धान सीआईबीले गरेको थिएन । सम्बन्धित जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर कारबाही प्रक्रियासमेत अघि बढाएका थिए । अब यसलाई उनले कसैलाई नछोड्ने गरेर अघि बढाएका छन् ।

राईले चलाएका पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, चितवनको सहारा र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले घोटाला गरेका छन् । यीमध्ये लामिछानेका तर्फबाट सुप्रिम सहकारीको १ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा ट्रान्सफर भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । त्यस्तै काठमाडौँ स्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी घोटालामा पनि जीबी र रवि जोडिएका छन् । लामिछाने र राई एक समयका व्यापारीक साझेदार हुन् । राई अध्यक्ष रहेको ग्यालेक्सी फोरके टेलिभिजनमा लामिछाने सञ्चालकसहितका प्रबन्ध निर्देशक थिए । यहि कारण उनीमाथि यसको तार जोडिदा रवीले भने अस्वीकार गर्दैै आएका छन् । आफूविरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई गाली बेईज्जतीको मुद्दा नै हालेका उनले आफू सहकारी पीडितकै पक्षमा रहेको भन्दै पीडितहरुलाई भेट्दै आएका छन् । यसक्रममा लामिछानेले सहकारी पीडितहरूको पैसा सरकारले तिर्नुपर्ने बताउँदै आएका छन् । सहकारी खोल्न सरकारले लाइसेन्स दिने सहकारीका सदस्यहरू मर्कामा पर्दा सरकारले बेवास्ता गर्न नमिल्ने उनको तर्क छ ।

हुन त टेलिभिजनले ऋण लिएको आफूलाई थाहा नभएको उनको दाबी छ । आफू टेलिभिजनमा रहँदा कार्यक्रम चलाउने, समाचार बनाउने जिम्मेवारी पाएका मान्छे टेलिभिजनको लगानी गर्ने जिम्मेवारी तहमा नभएको र टेलिभिजनमा रहँदा सञ्चालनका लागि कुनै पनि सहकारीबाट पैसा ल्याउने निर्णय पनि नभएको उनको भनाइ छ । तर उनी हिस्सादारी मै भएको प्रमाणहरु बाहिर आइरहेका छन् । जसले उनी संकटमा परेको प्रष्ट हुँदा यसबाट बच्न माओवादी कै शरण पर्नुपर्ने अर्को अवस्था आएको रुपमासमेत चर्चा भइरहेकोे छ । नागरिकता र पासपोर्ट किर्तेमासमेत परेका उनी सरकार फकाएर बचेको चर्चाका बीच रविलाई अर्को संकट आइलागेको छ । त्यसबाट भने उनी भाग्न सक्ने अवस्थामा देखिँदैन ।