Breaking

बालेनले अघोषित निलम्बनमा राखेका प्रशासकीय अधिकृतको सरुवा, महानगरमा परियार तानिए


काठमाडौँ— काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहले अघोषित निलम्बनमा राखेका प्रमुख प्रशासकीय अधिकृत सरुवा भएका छन् । उनलाई सरकारले महानगरपालिकाबाट हटाएर मधेसी आयोगमा पठाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठक २९ जना सहसचिवको सरुवा गरेको थियो । सामान्य प्रशासन मन्त्रालयको प्रस्तावअनुसार सरुवा गरिएका सहसचिवमा अधिकारी पनि परेका हुन् ।

काठमाडौं महानगरमा केही करार कर्मचारी थप्ने सम्बन्धी प्रस्तावमा गडबडी गरिएको पाइएपछि मेयर बालेन्द्र साहले चार कर्मचारीलाई निलम्बनमा राखेका थिए । उनकै सचिवालयकी एक कर्मचारीले छलछाम गरेर आफ्नी छोरीलाई करार जागिरमा घुसाउने प्रयास गरेकी थिइन् । उक्त काममा प्रमुख प्रशासकीय अधिकृतको पनि हस्ताक्षर प्रयोग भएको पाइएपछि बालेनले उनलाई पनि अफिस नआउन निर्देशन दिएका थिए । उनको गाडी पनि खोसिएको थियो ।

अधिकारीको स्थानमा सरकारले प्रदीप परियारलाई काठमाडौंको प्रशासकीय अधिकृत बनाएर पठाएको छ । उनी यसअघि योजना आयोगमा थिए ।

सहसचिव परियार दुई वर्षअघि सबैभन्दा कम उमेर ३२ वर्षमै खुला प्रतिस्पर्धाबाट सहसचिव बनेका थिए । सहसचिवमा सिफारिस भएलगत्तै उनको शहरी विकास मन्त्रालयमा पदस्थापन भएको थियो । उनले त्यहाँ करिब एक वर्ष प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सम्हालेका थिए । मन्त्रालयबाट उनको पाँच महिनाअघि गत भदौमा राष्ट्रिय योजना आयोगका सरुवा भएको थियो ।