Breaking

खाणको सक्रियताले कांग्रेसमा तरंग, देउवामाथि दबाब (भिडियोसहित)


काठमाडौँ – विगतमा अवसर पाएर अहिले नेतृत्वको छायामा परेका कांग्रेस नेताहरु राजाको पक्षमा वकालत गर्नेदेखि भारतसँग योजना माग्न जानेसम्मका गतिविधिमा सक्रिय छन् । केही नेताहरु नयाँ समीकरण र १५ औँ महाधिवेशनको तयारीमै जुटिसकेका छन् । जसले कांग्रेसको संस्थापन पक्षमा तरंग ल्याएको छ ।

सांसद, मन्त्री र पार्टीको पदाधिकारी बन्दा शीर्ष नेताको भक्ति गान गरेर नथाक्ने नेताहरु जिम्मेवारीविहीन बन्दा के हुन्छ होला ? यसको जवाफ पाउन नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि र सुजाता कोइरालालाई हेरे पुग्छ । पार्टीमा देउवाको एकलौटी दबदबा र महाधिवेशनमा सभापतिमा सर्मथन गर्नेहरुसँग न अहिले देउवाका कार्यशैलीको विरोध गर्ने ताकत छ, न त चुपचाप बस्दा कुनै जिम्मेवारी नै पाएका छैनन् । यतिसम्म कि केही नदिँदा पनि चुप लागेर बस्नु बाहेकको विकल्प उनीहरुसँग छैन । आफूलाई देउवाको उत्तराधिकारी पुष्टि गर्न हरपल लागिरहेका उनीहरुलाई देउवाले नै पत्याउन छाडेका छन् । कार्यकर्तामाझ जान न धरातल बलियो छ न गुट नै । संगठन निर्माणमा पनि सक्रिय सहभागिता नजनाएका र पटक–पटक मौका पाएका उनीहरु उग्र सिद्धान्तवादी र राष्ट्रवादी बन्न थालेका छन् । यतिसम्म कि नेतृ सुजाता कोइराला भने देउवाले बोक्ने भनेको हिन्दु राष्ट्रको मुद्दालाई सर्मथन गर्दै पृथ्वीनारायण शाहका सन्तानलाई नै भएपनि बेबी किङका रुपमा राजा बनाउनु पर्ने लाइनमा खुलेकी छन् ।

महाधिवेशनमा सहयोग गरेका विमलेन्द्र निधि लगायत पात्रहरुलाई पाखा लगाउँदै कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले काखी च्यापेपछि कोइरालाको यो अभिव्यक्ति आएको हुनुपर्छ । किनभने कांग्रेसमा कोइराला परिवारको असली हकदार सुजाता र डा. शशांक कोइराला हुन् तर देउवाको विपक्षी धु्रवको रुपमा शेखर कोइराला र गगन थापा लगायतको उदय भएको छ । अब कांग्रेसको नेतृत्व आफू गर्ने र हिन्दु राष्ट्र पनि आफ्नै नेतृत्वमा बनाउने भन्दै सभापतिकै लागि देश दौडाहमा हिंड्ने बताएको छ महिना भइसक्दा पनि शशांक गुमनाम छन् । नेता शंकर भण्डारी चैतसम्म यो संविधान नै डिरेल हुने ठोकुवा गर्दै हिंडेका छन् । आफ्नै जिल्लामा चुनाव हारिने डरले समानुपातिकको सूचीमा छिरेका विमलेन्द्र निधिले मधेश प्रदेश अधिवेशनको मञ्चमै नगएर कार्यकर्ता पंक्तिको मन जित्ने प्रयास गरे । तर पनि उनलाई मधेशबाट पन्छाउन खोजेको प्रस्ट देखिन्छ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदा भारतले दिने २० करोड अनुदानको हिस्सेदार आफूहरु पनि रहेको भन्दै आफ्नो क्षेत्रमा रंगशाला बनाइदिनुपर्ने माग गर्नेको लाइनमा पहिलो नम्बरमा थिए निधि । उनै निधि नेपालले बनाउन लागेको पुलमा भारत तगारो बनेर काम गर्न नदिएको भन्दै भारतकै अघि लम्पसार परेका छन् । नेपाल–भारत सीमामा कैंयन बाधाका कारण विकासे योजनाहरु अलपत्र पर्ने गरेका छन् । सरकारमा उनकै पार्टी छ । त्यसको लागि सरकारले नै प्याकेजमा छलफल गर्न सक्नु पर्ने हो । तर निधि भने फगत स्टन्टका लागि भारत पुगे ।

नेपालीलाई भुटानी बनाउने कुकर्ममा जेल परेर धरौटीमा रिहा भएका बालकृष्ण खाणको सक्रियता झनै बढेको छ । सांगठनिक पकड भएका पूर्वगृहमन्त्री खाणलाई साथमा लिएर नयाँ ध्रुवीकरणको प्रयासमा नेताहरु नै जुटेको चर्चा सुरु भएको छ । खाणले अहिले राजनीतिक भेटघाट तीव्र पारेका छन् । एनपी साउद र चन्द्र भण्डारीलाई साथमा लिएर मन्त्री फेरबदल, संसदीय दलको नेता परिवर्तन र १५ औँ महाधिवेशनंको रणनीति बनाउनसम्मै जुटेका छन् । बहालवाला मन्त्री, कार्यकर्ताको पंक्ति भएका खाण र शेखर पक्षका भण्डारीको जमघटले संस्थापन पक्षमा चिसो पसेको मात्रै छैन तरंग नै उत्पन्न भएको छ । अहिले नेपाली कांग्रेसमा वैचारिक र व्यवहारिक आलोचना गर्नेमध्येमा सांसद चन्द्र भण्डारी पनि पर्छन् । यतिसम्म कि पार्टी राजनीति भन्दा माथि उठेरै देशमा राजाकै आवश्यकता महसुस हुन थालिसकेको बताएर तालीको मज्जा लिइरहेका छन् । देउवाको नेतृत्वमा पार्टी नचल्ने र देश सकिने उनको अभिव्यक्ति त पुरानै हो ।


सुशील कोइरालाई संविधानको पिता मानेर यो व्यवस्था ल्याउनका लागि महत्वपूर्ण संघर्ष गरेको बताउनेहरु नै पार्टीमा स्थान नपाएकै कारण विगतमा गणतन्त्रको भाग खाएर अहिले त्यही व्यवस्थाको विरोध गर्न उद्धत छन् । के कांग्रेसले यी अभिव्यक्तिहरुलाई लोकतन्त्रको सुन्दर पक्ष रुपमा मात्रै लिन्छ वा पार्टीमा गम्भीर छलफल चलाउँछ त्यो भने सबैको चासोको विषय बनेको छ ।