Breaking

बहिनीको बलात्कार घटना बाहिर ल्याउँदा दाजुको हत्या, बाबु पक्राउ


बहिनीको बलात्कार भएको घटना बाहिर ल्याउँदा दाजुको हत्या भएपछि प्रहरीले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

यो घटना पश्चिम सुर्खेतको हो।

बहिनीमाथि बलात्कार भएपछि दाजुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा गत असोजमै जाहेरी दिएका थिए।

प्रहरीमा घटनाबारे जाहेरी दिएका दाजुको गत सोमबार राति घरनजिकै रहेको बाख्रा खोर छेउ हत्या भएको अवस्थामा शव फेला परेको थियो। उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको देखिएको छ। उनकी बहिनी घाइते अवस्थामा फेला परेकी थिइन्।

यस घटनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक टोली नै बनाएर अनुसन्धान गरिरहेको छ। प्रहरी प्रदेश कार्यालयबाट प्रहरी निरीक्षक बुद्धि सुवेदी, कर्णाली प्रदेश प्रहरी कार्यालयबाट सई नारायण शर्मा र इलाका प्रहरी कार्यालय बाबियाचौरका प्रहरी निरीक्षक विनोद सुवेदीले यो घटना अनुसन्धान गरिरहेका छन्।

अनुसन्धानको सिलसिलामा उक्त टोलीले बाबुलाई पक्राउ गरेको हो। बिहीबार बिहान साढे १० बजे कैलालीको टीकापुरबाट बाबुलाई पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीमप्रसाद ढकालले सेतोपाटीलाई जानकारी दिए।

यो घटनामा बाबुले छोरीमाथि गत असोजमा बलात्कार गरेको र घटनाबारे बहिनीले दाजुलाई भनेपछि उनको हत्या भएको हुन सक्ने देखिएकोले बाबुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

‘बुवाले आफूमाथि बलात्कार गरेको भनेर बहिनीले दाजुलाई भनेकी रहिछन्। त्यसपछि दाजुले प्रहरीमा जाहेरी दिएका रहेछन्,’ एक प्रहरीले भने, ‘प्रहरीमा किन जाहेरी दिएको भन्दै बाबुले छोराको हत्या गरेको हुन सक्छ।’

पीडितका दाजुले गत कात्तिकमै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका थिए। यही घटनाका कारण दाइको हत्या र बहिनीको हत्या प्रयास भएको हुन सक्ने अनुसन्धानमा खटिएका एक प्रहरीले बताए।

प्रहरीका अनुसार उनीहरूका बाबु भारतमा बस्दै आएका थिए। घरमा दाजुबहिनी मात्र बस्थे। गत असोजमा भारतबाट घर आएका बुवाले छोरीमाथि बलात्कार गरेको आरोप छ। प्रहरीमा जाहेरी परेपछि बाबु भारत भागेका थिए। उनी केही दिनअघि नेपाल फर्केको भन्ने सूचना पाएपछि प्रहरीले उनलाई पक्राउ गरी घटनाबारे अनुसन्धान अघि बढाएको हो।