समाचार

प्रचण्डको प्रचार मोह, बन्यो डिजिटल विज्ञापन, सुशासनको गीत–बालकृष्ण थुनेको उपलब्धि (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— दोस्रो कार्यकालमा सुशासनको स्वर्ण युग देखाउने भनेका प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन दिनमै सीमित बन्न थालेका छन् । बुधबार मात्रै प्रचण्डले तीन फरक–फरक निर्देशन दिए । सरकारका काम जनताले नपत्याएर भिडियो विज्ञापन तयार पार्नु पर्ने अवस्थामा पुगेका प्रधानमन्त्रीले निर्देशन दिएर मात्रै पार लाग्छ त ?

गत पुष ७ गते प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– अरूले पिठो बेचे, माओवादीले राम्रो चामल पनि बेच्न सकेन । अर्थात… अरु पार्टीहरूले नगरेका कामलाई पनि गरेँ भनेर प्रचार गर्दा माओवादीले गरेका कामलाई पनि प्रभावकारी रूपमा प्रचार गर्न नसकेको उनको दुखेसो थियो । लगत्तै चतुर कार्यकर्ताले विज्ञापन बनाइदिए–अरु जस्तो माओवादी होइन । यो दृश्यमा चिया पसलमा जनता महंगी र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको बताइरहेका हुन्छन् । त्यत्तिकैमा स्वयंसेविका जस्तै देखिने एक पात्रले बखान गर्छिन्– ‘माओवादी अरु जस्तो होइन ।

राम्रोलाई त राम्रो भन्न सिक्नुस् न ।’ यसले माओवादीको पिठो बेच्ने जुक्ति बिल्कुलै फरक देखियो । प्रचण्ड नेतृत्वको सरकारले सुरुवातीमा गरेका कामको ब्रान्डिङ जनताले नगरेका पनि होइनन् । तर काण्डको फाइल खोल्दा आफ्नै छायाँ देखिन थालेपछि जनता विज्ञापन पनि नपत्याउने अवस्थामा पुगिसकेका छन् । सरकारले केही गर्न नसक्ने निश्कर्षमा पुगेका जनता चित्त बुझाउनका लागि भन्दैछन्– ‘प्रचण्ड सरकार एउटै मन त छ त्यो पनि कति पटक जित्छौ ?’ माओवादी नेताहरुले भने सरकारले उत्कृष्ट काम गरेको दाबी गर्न छाडेका छैनन् ।

गठबन्धन नगरी चुनावमा होमिए टर्च बाल्दासमेत खोज्न नसकिने अवस्थामा माओवादीको धरातल पुगेको छ । आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा मध्यपहाडी लोकमार्ग निर्माण, ३० हजार जनाको ऋण मिनाहा, १ लाखभन्दा बढीको ब्याज मिनाहा, दोस्रो कार्यकालमा लोडसेटिङ अन्त्य गर्नुलाई महत्वपूर्ण उपलब्धि मानेका प्रचण्डले तेस्रो कार्यकाललाई सुशासन र समृद्धिको युग भनेका थिए । तर न त सुशासनको युग सुरु भयो न त समृद्धिको युग नै । प्रचण्ड नेतृत्वको मन्त्रिमण्डमा रहेको मन्त्रीहरु नै सरकारले देखिने गरी काम गर्न नसकेको स्वीकार गर्छन् ।


उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काकै भनाइ मान्ने हो भने पनि सरकारले सुनाएको सफलताको गाथा आत्मरतीमा केन्द्रित छ । माओवादीले नै हालै जारी गरेको सर्कुलर अनुसार माओवादी नेतृत्वको सरकारले चालेका भ्रष्टाचार, भू–माफिया, तस्कर, मिटरब्याजीलगायतलाई गरिएका धक्कामुलक कारबाहीले आमजनतामा सकारात्मक प्रभाव बढेको निष्कर्ष निकालेको छ । यद्यपि गठबन्धनको सीमा र अवस्थाका कारणले जनअपेक्षा र चाहनाअनुसार काम गर्न नसकेको अर्को दोधारे बुझाइ पनि पार्टीमा छ । यसले पनि सरकार आफैँ के गरिरहेको छु भन्नेमा ढुुक्क छैन ।

एक वर्षमा गर्नुपर्ने काम पनि गर्न नसकेको अत्मालोचना गरेका प्रचण्डले दोस्रो वर्ष उपलब्धिमुलक बनाउने बताएका थिए । तर व्यवहारमा ठिक उल्टो छ । सचिवालयको हेरफेर गरे तर प्रश्न उठेका गंगा दालाल लगायतका पात्र टांसिएर बसेकै छन् । अरु मन्त्री र कर्मचारीलाई विदेश भ्रमणमा नजान निर्देशन दिए तर प्रधानमन्त्री आफैँ विदेश भ्रमणमा रमाउन छाडेनन् ।

कामभन्दा निर्देशन केन्द्रित मात्रै बढी बनिरहेका छन् । बुधबार मात्रै प्रचण्डले एकैदिन तीन निर्देशन दिए । बिहानै प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका उनले लगत्तै सहकारी समस्या समाधान गर्न र भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न अर्को निर्देशन दिए । निर्देशन दिएकोमा आलोचना होइन तर निर्देशन नमान्ने निकायलाई के गर्ने भन्ने योजना प्रधानमन्त्रीसँग छैन । यी विषयमा प्रधानमन्त्रीले ध्यान दिए सरकारले गरेका कामको प्रचार गर्न कुनै कलाकार राखेर प्रचार सामग्री बनाउनु पर्र्ने दुःख गरिरहनु पर्दैन थियो कि ?