Breaking

अर्को आन्दोलनको तयारीमा एमाले, गठबन्धन भत्काउन अनेक अस्त्र (भिडियोसहित)

प्रचण्डसँग मिलेर एमाले सक्ने माधवको योजना


काठमाडौँ — सत्तारुढ गठबन्धन भत्काउने एमालेको अनेक प्रयत्न सफल हुन सकेको छैन । एमालेको संघर्ष र सहकार्यको रणनीति असफल जस्तै बन्न पुग्यो । राष्ट्रिय सभा निर्वाचनमार्फत गठबन्धन फेर्ने रणनीतिले पनि काम गरेन । अन्ततः राजधानी केन्द्रित सडक आन्दोलनको रणनीतिमा एमाले पुगेको छ ।

राजनीतिका चतुर खेलाडी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पछिल्लो समय हरेक रणनीतिमा असफल जस्तो हुन पुगेका छन् । गठबन्धनसँग एक्लै भिडेर बहुमत ल्याउने दाबी गरे पनि दोस्रो स्थानमा खुम्चिनु परेपछि ओलीको पहिलो रणनीति त्यही फेल भयो । आफ्नै पार्टीसँग विद्रोह गरेर नयाँ पार्टी खोलेका माधवकुमार नेपाललाई देखाउन भए पनि प्रचण्डलाई प्रधानमन्त्री बनाएका ओलीलाई सहमतिको मसी सुक्न पाउँदै प्रचण्डले धोका दिए ।

सत्ताबाट बाहिरिएपछि सदनमा केही मुद्दाहरूमा खरो रूपमा उत्रे पनि समितिमार्फत केही भागबण्डा मिलाउँदै थामथुम पार्न एमाले नै लाग्यो । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने कार्ड देखाएर राष्ट्रिय सभामा प्रचण्डलाई गलाउन खोजे पनि अन्तत ओलीको त्यो रणनीति पनि फेल खायो । पछिल्लो समय ओलीको हरेक रणनीतिले सफलता नमिलेपछि आफ्नो शक्ति देखाउन झुलाघाट चिवाभन्ज्याङ समृद्धिको लागि संकल्प यात्रा गरेको एमालेले प्रचण्ड नेतृत्वको सरकारलाई गुडा टेकाउनकै लागि काठमाडौँ केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।

देशको सबै राष्ट्रिय शक्तिहरू एमालेलाई कसरी सिध्याउने भनेर सोचिरहेको र प्रचण्ड नेतृवको सरकार कसरी सत्तामा टिक्ने भन्नेबाहेक केही गर्न नसकेको एमाले नेताहरू बताइरहेका छन् ।

सरकारले मुलुक र जनतामाथि चरम ज्यादती गर्न थालेको र राष्ट्रिय स्वाधिनतामाथि समेत गम्भीर आँच आउने काम गरेको निष्कर्षसहित प्रमुख प्रतिपक्षी दल एमाले राजधानी केन्द्रित आन्दोलनको तयारीमा छ । गठबन्धन फुटाउने लक्ष्यका साथ चालिएको हरेक कदममा आफू नाङ्गिन पुगेपछि अब भने आक्रमक रूपमा प्रस्तुत हुने एमालेको रणनीति छ ।

एमालेले देशमा रहेको व्यथिति र भ्रष्टाचारको विरूद्ध पटक÷पटक सदन अवरूद्ध गरेपनि अन्तमा गएर भागबण्डामा मात्र सीमित रहेको आरोप खेप्दै आएको छ । आफ्नै पार्टीभित्रबाट असन्तुष्ट जनाउँदै अलग भएका माधवकुमार नेपालले ओलीलाई खासै ठूलो झट्का दिन नसके पनि सदनको तेस्रो दल नेकपा माओवादी केन्द्रले भने, पटक÷पटक एमालेको रणनीति फेल गराएको छ । एमालेसँग विद्रोह गरेर अस्थिरताको अन्त्य र संविधान बचाएको दाबी एकीकृत समाजवादीले गरिरहेको छ ।

कम्युनिष्ट एकताको कुरा पनि चलिरहेको छ । तर, नेताहरूको दम्भ र अहंकार रहेसम्म त्यो सम्भव देखिन्न । माओवादी केन्द्रका नेताहरू ओली नसचिएसम्म एकता र मिलेर जाने अवस्था नरहेको दाबी गर्छन ।

सुखी नेपाली, समृद्ध नेपालको नारा बोकेको एमाले रणभुल्लमा छ । माघ ११ को निर्वाचनपछि राष्ट्रिय सभामा एमाले तेस्रो स्थानमा खुम्चिने स्थिति देखिदै छ । यही अवस्था रहने हो भने एमालेको शक्ति अझै घट्ने छ । त्यसैले सत्ता गठबन्धन भत्काउन एमालेले अनेक प्रयत्न गरिरहेको छ । तर, सफल हुन सकिरहेको छैन । यस्तो बेला एमालेले राजधानी केन्द्रित सडक आन्दोलनको रणनीति लिएको छ ।