Breaking

कोशी प्रदेशमा सभामुख चयन गर्न आज निर्वाचन


काठमाडौँ – कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आजै हुने भएको छ ।

प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । कार्यसूची भने केहिबेरमा प्रकाशन हुने उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् ।
सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनदेखि कोशी प्रदेशमा सभामुख रिक्त छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आजै सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

सभामुखको टुंगो लगाउने विषयमा छलफल गर्न दलहरुको बैठक पनि बसिरहेको छ । सत्तारुढ गठबन्धनले राप्रपालाई सभामुख दिने निर्णय यसअघि नै गरेको थियो । गठबन्धनले निर्णय गरेपछि राप्रपाले पनि उम्मेदवारी दिने निर्णय गरेको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने निर्णय गरेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए ।

राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन् । राप्रपाले केही दिनअघि नै विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुने सम्भावना छ । नेकपा एमालेले उम्मेदवारी दिने निर्णय नगरे विष्ट निर्विरोध निर्वाचित हुनेछन् । सभामुखको विषयमा छलफल गर्न प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक जारी छ ।