Breaking

चौधरीको आतंकले रातभर सुत्दैनन् लाजिम्पाटका स्थानीय, बालेनले पनि सहयोग गरेनन् , पीडितको घर चिराचिरा

सीजीको लाजिम्पाटमा तमासा


काठमाडौँ – चौधरी ग्रुपको सदस्य सीजी होल्डिङसले लाजिम्पाटमा बडेमानको अपार्टमेन्ट ठड्याउँन दैनिक जसो रातभर ट्रिपर आतंक र मेसिन चलाएपछि स्थानीय आतंकित छन् ।

मेसिन लगाए जमिन खोतल्न थाल्दा कतिको घर चर्किएको छ । तर आफुहरु पीडित भएको भन्दै स्थानीयले हारगु्हार गर्दा न्याय नपाएको उनिहरुको गुनासो छ ।

नेपालकै शक्तिशाली व्यापारिक घराना सीजी ग्रुपका मालिक विनोद चौधरीका भाई अरुण चौधरीले लाजिम्पाटमा आतंक मच्चाउँदा आजभोलि हरेक दिन सुजनमार्गमा भूकम्प गइरहेको छ ।

स्थानीय बासिन्दा आफ्नो घर भत्किने त्रासमा निदाएका छैनन् । त्यहाँका जनताको जिउधन नै जोखिममा परिसक्दासमेत सरोकारवाला निकायको ध्यान गएको छैन । वडा कार्यालयदेखि, प्रहरी प्रशासन सबै चौधरीका अघि चुप बसेका छन् ।

अर्थात् चौधरी ग्रुपको सदस्य सीजी होल्डिङसले यहाँ बडेमानको अपार्टमेन्ट ठड्याउँदैछ । यो कम्पनीका मालिक विनोद चौधरीका भाई अरुण चौधरी हुन् । उनकी श्रीमती शिला चौधरीका नाममा रहेको ६ रोपनी जग्गाभित्र अपार्टमेन्ट नै ठड्याउन खोजेका उनले साउनदेखि प्रत्येक दिन डोजर चलाइरहेका छन् ।

अरुणको समूहले बुलडोजर हान्दा उत्पन्न कम्पनले जमिन भाँसिएर वरपरका घरहरु चर्किएका छन् । स्थानीय अवन्तिका रेग्मीको पर्खाल भत्किएर घर नै जोखिममा परेपछि उनी आफ्नो सुरक्षाका लागि हारगुहार गरिरहेकी छन् ।

सुजनमार्गस्थित यो टोललाई शान्ति कुञ्ज पनि भनिन्छ । साउनअघि यो टोल शान्त र हरीयाली थियो । तर स्थानीयको मञ्जुरी र स्वीकृति बिनै अरुणले अपार्टमेन्ट बनाउने तयारीसहित दिनरात डोजर चलाउन थालेपछि अहिले यो क्षेत्र पुरै अशान्त बनेको छ । धेरै स्थानिय चौधरीको शक्ति देखेर प्रतिवाद गर्न सकिरहेका छैनन् । कति उठिबास लाग्ने भयो भन्दै थातथलो छोड्ने तयारीमा छन् । तर अत्ति नै भएपछि यसका विरुद्ध स्थानिय अवन्तिका रेग्मीले प्रहरी गुहारिन् । तर प्रहरीले उल्टै १६ घण्टा उनलाई थुनामा राख्यो ।

त्यसपछि उनी चौधरीको सीजी होल्डिङस्ले आफ्नो घर र ज्यान दुवै जोखिममा पारेको भन्दै २०८० भदौ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा हालिन् । अरुण चौधरी र शिला चौधरीविरुद्ध मुद्दा हालेकी उनले आफ्नै नागरिक असुरक्षित बन्दा पनि वेवास्ता गरेको भन्दै काठमाडौं महानरपालिका–२ लाई समेत विपक्षी बनाएकी छन् ।

रेग्मी अदालत गएपछि असोज ४ गते छिमेकीको जग्गा र पर्खाल भत्किने गरि वा घर हल्लिने गरि डोजर नचलाउन भन्दै जिल्ला अदालत काठमाडौंले अन्तरिम आदेश आयो । केही समय काम रोकियो पनि फेरि डोजर चल्न थाल्यो । रेग्मीले भवन निर्माण प्रक्रिया रोक्न अन्तरिम आदेश माग्दै उच्च अदालत पाटनमा समेत रिट हालिन् । तर महानगरले अनुमति दिइसकेको भन्दै अदालतले मंसिर १ गते अन्तरिम आदेश दिन अस्वीकार ग¥यो । त्यसपछि उनी न्याय खोज्दै महानगरको न्यायिक समितिमा पुगिन । तर महानगरले उजुरी स्वीकार गरेन । जबकि आफ्नै जग्गामा संरचना बनाउँदा पनि सबै छिमेकीको हस्ताक्षरबिना निर्माणसम्बन्धी नक्सा पासको सिफारिस वडाले गर्नै मिल्दैन । तर अवन्तिकाले आफ्नो सम्पत्ति सुरक्षाको माग गर्दै अड्डा अदालतमा हारगुहार गरेपनि कतै सुनुवाई भएको छैन । उल्टै उनलाई अरुण–शिला चौधरीले अवन्तिका रेग्मीले अवरोध गरेको भन्दै क्षतिपूर्ति माग्ने धम्की दिइरहेका छन् ।

यहाँ अपार्टमेन्ट बनाउन लागिएको जानकारीसमेत स्थानीयलाई नदिएको उनीहरुको भनाइ छ । कतिपय स्थानियले नक्सापास बिनै संरचना बनाउन लागिएको भन्दै विरोधसमेत गरेका थिए । तर निकै लामो समयपछि वडाअध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले स्थानीयलाई असहज छ भन्ने जाँन्दाजान्दै पनि भवन निर्माणको सिफारिस दिएका थिए । आवश्यक प्रक्रिया पुरा नगरि वडाले गरेको सिफारिसलाई काठमाडौं महानगरको भवन इजाजत विभागले कात्तिक १६ गते द्रुत गतिमा निर्माणको अनुमति दिएको छ । बालेन शाहले नेतृत्व गरेको महानगरभित्रै यसरी बलजफ्ती संरचना बन्दै गरेको विषयले उनीहरु आफै अचम्मित छन् ।

तर अरुण–शिला पक्षले आफ्नै जमिनमा संरचना बनाउन किन नपाउनु भन्दै यसको प्रतिवाद गरिरहेको छ । एकहिसाबले आफ्नो सम्पतिमाथि जसरी संरचना बनाएपछि हुन्छ । तर उनीहरुले संरचना बनाउँदा स्थानीयको सम्पत्ति नै जोखिमा पार्नु चाहीँ संविधानले व्यवस्था गरेको हककै हनन हो ।