Breaking

बरहथवा घटनाको छानबिन गर्न गृह मन्त्रालयले बनायो ३ सदस्यीय समिति


काठमाडौं — गृह मन्त्रालयले सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको घटनाको छानबिन गर्न ३ सदस्यीय समिति बनाएको छ ।

आज मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्ति जारी गरी मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

समितिमा नेपाल प्रहरीका डीआईजी सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका निर्देशक भीमबहादुर बुढाथोकी सदस्य छन् ।

आज सर्लाहीको बरहथवा नगरपालिका–५ मा प्रँथमिक स्वास्थ्यकेन्द्र बरहथवालाई स्तरोन्नति गर्ने वा नगर्ने विषयमा भएको विवादमा स्थानीय वासिन्दाले गरेको प्रदर्शनमा गोली लागेर बरहथवा–६ का अन्दाजी ३० वर्षका जयशंकर साहको मृत्यु भएको थियो ।

मृतक परिवारलाई १० लाख रुपैयाँ दिने र छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका गृह मन्त्रालयका प्रवक्ता भट्टराईले जानकारी दिए ।