अन्तर्राष्ट्रिय

मोदीको सकस, केजरीवालको घरमा प्रहरीको घेरा, जेल कोच्ने के छ आधार ?


काठमाडौँ – दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल कानुनी जालमा फस्ने खतरा देखिएको छ ।

प्रवर्तन निर्देशनालय (ईडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित हुन केजरीवाललाई सूचना जारी गरे पनि केजरीवालले बेवास्ता गरेपछि निवास बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । केजरीवाल पक्राउ पर्ने सम्भावनासमेत रहेको छ ।

भारतमा आम निर्वाचनको तयारी तीव्र गतिमा यतिबेला भइरहेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि मैदानमा उत्रिँदै छन् । विपक्षी दलहरु भने उनलाई रोक्ने दाउमा छन् । यसैबीच केन्द्रीय सत्ताको विपक्षी गठबन्धनमा रहेका मुख्यमन्त्रीमाथि कानुनी कारबाहीको खतरा बढेको छ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका नेता अरविन्द केजरीवाल कानुनी जालमा फस्ने खतरा देखिएका छन् । भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गर्दै आम आदमी पार्टी गठन गरेका अरविन्द केजरीवाल यतिबेला आफ्नो राजनीतिक जीवनकै सबैभन्दा संकटपूर्ण अवस्थामा छन् ।

भारतीय जनता पार्टीले दिल्लीका केजरीवालविरुद्ध भ्रष्टाचारको आरोप लगाइहेको छ । राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री केजरीवालको निवास बाहिर यतिबेला ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । प्रवर्तन निर्देशनालय (ईडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित हुन मुख्यमन्त्री केजरीवाललाई समन जारी गरेको थियो । तर लगातार समन जारी हुँदासमेत केजरीवालले बेवास्ता गरेपछि पछिल्लो घटनाक्रम विकसित भएको हो ।

मुख्यमन्त्री केजरीवाल दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका मुख्य नेतासमेत हुन् । बुधबार रातिदेखि नै आम आदमी पार्टीका नेता तथा कार्यकर्ताहरुले केजरीवाललाई गिरफ्तार गर्न सक्ने आशंका प्रकट गर्दै आएका थिए । दिल्ली सरकारका मन्त्री आतिशी र सौरभ भारद्वाजले राति अबेर गरेको ट्वीटमा इडीले केजरीवालको घरमा छापा मार्न सक्ने उल्लेख थियो । केजरीवालले इडीको तेस्रो समनलाई पनि बेवास्ता गरेपछि उनीहरुले यस्तो आशंका प्रकट गरेका थिए । मदिरा घोटाला प्रकरणमा छानबिनका लागि इडीले यसअघि २ नोभेम्बर र २१ डिसेम्बरमा समन जारी गरेको थियो । तेस्रो समनमा उनलाई गत बुधबार पेस हुन भनिएको थियो । तर मुख्यमन्त्री केजरीवाल इडीमा उपस्थित भएनन् ।

बरू उनले पत्रमार्फत इडीलाई लिखित प्रश्न पठाउन भनेका थिए । राज्य सरकारको नेतृत्व गरिरहेको आम आदमी पार्टीले विपक्षी गठबन्धनको बलमा दिल्लीमा भारतीय जनता पार्टीलाई नराम्रो झट्का दिन सक्छ । त्यसैले पनि भारतीय जनता पार्टीले केजरीवाललाई भ्रष्टाचार मुद्दामा घेराबन्दी गर्दै त्यसको फाइदा उठाउन सक्ने जानकारहरु बताउँछन् ।

विपक्षी गठबन्धनले लोकसभा निर्वाचनका लागि सिट बाँडफाँट नगर्दै यसरी राज्यका मुख्यमन्त्रीमाथि कानुनी कारबाही अघि बढाएर भारतीय जनता पार्टीले एक कदम पछाडि धकेलिदिन सक्ने आकलन गरिएको छ ।