Breaking

जयशंकरको नेपाल भ्रमण : भित्री मुद्दा के ? राजनीतिदेखि विद्युतसम्म नै तरंग (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ — भारतीय विदेशमन्त्री एस जयशंकर आज काठमाडौं आउँदै छन् । नेपाल भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् । संयुक्त आयोगको बैठक तथा राष्ट्रपति–प्रधानमन्त्रीसहित उच्चस्तरीय भेटघाट पश्चात उनी शुक्रबार दिल्ली फर्किने कार्यक्रम छ ।सीमा समस्या, व्यापार घाटा, सम्झौता भएका योजनाहरुदेखि कुटनीति तवरमा गिजोलिएको नेपाल भारत–सम्बन्ध सुधारको लय लिन परराष्ट्रमन्त्रीस्तरीय दुईपक्षीय छलफलले निकास दिन सक्ला ?

भारतीय विदेशमन्त्री एस जयशंकर आज काठमाडौंओर्लिदैँछन् ।परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुनउनी नेतृत्वको प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रिय, नेपाललाई धेरै हदसम्म बुझेका, नेपालका सबै राजनीतिक नेतृत्वको नाडी छामिसकेका सफल कुटनीतिज्ञको छवि बनाई सकेका विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणआम चासोमा छ । परराष्ट्रमन्त्रीस्तरीय आयोगको बैठकसँगै राष्ट्रपति रामचन्द पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतसँग हुने उच्चस्तरीय राजनीतिक भेटवार्ताका कारण पनि उनको भ्रमण थप चासोपूर्ण बनेको हो । विहीवार बस्न लागेको नेपाल–भारतबीचको परराष्ट्रमन्त्रीस्तरीय संयुक्त वैठक आफैँमा महत्वपूर्ण छँदैछ । सीमा समस्या, व्यापार घाटा, सम्झौता भएको योजनाहरु अलपत्रदेखि कुटनीति तवरमा गिजोलिएको नेपाल भारत–सम्बन्ध सुधारका दृष्टिले परराष्ट्रमन्त्रीस्तरीय दुईपक्षीय छलफलबारे राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा नै सबैको ध्यान तानेको छ । परराष्ट्र मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री एनपी साउदले आन्तरिक रुपमा पूर्व राजदूत पूर्व परराष्ट्रमन्त्रीहरुसँग राय लिएरै तयारी गरेका छन् । दुई देशबीचको सीमा, व्यापार, वाणिज्य, आर्थिक सहयोग, विद्युत व्यापारलगायतका विषयमा छलफल हुने बताइएको छ । बैठकमा समग्र द्विपक्षी सम्बन्ध र आपसी साझेदारीबारे छलफल हुनेछ । दश वर्षमा दश हजार मेगावाट विद्युत निर्यात गर्ने नेपालको मुख्य एजेण्डामा बैठक केन्द्रित हुने बताइएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक नियमित बस्नुपर्ने प्रावधान भए पनि बैठक भने मनलाग्दीझै देखिन्छ ।विहीबार हुने वैठक तीन वर्षपछि बस्न लागेको हो । आयोग आफैँमा महत्वपूर्ण भए पनि यसको प्रभावकारिता कमजोर देखिन्छ । नेपाल–भारतबीच सीमा समस्या,व्यापार घाटाम सम्झौता भएको योजनाहरु अलपत्रदेखि कुटनीति तवरमा गिजोलिएको नेपाल भारत–सम्बन्ध सुधारमा आयोग नै अलपत्र छ । तर नेपाल भारत सम्बन्ध सुधार र सुमधुर बनाउन आयोगलाई अन्देखा गर्न मिल्दैन । आयोगको बैठकमा छिमेकी रिसाउँछ भन्ने डर नबोकी नेपालले आफ्ना एजेन्डाहरु स्पष्ट रुपमा प्रस्तुत गर्नु पर्ने जानकारहरुको सुझाव छ । सीमा समस्या, विद्युत व्यापार, व्यापार घाटा, आर्थिक सहयोग जस्ता सवालमा नेपालले अडान नै लिएर आफ्ना विषयहरु प्रस्तुत गर्नु पर्ने उनीहरुको तर्क छ ।

एकपछि अर्को उच्चस्तरीय भ्रमणकाबीच नेपाल–भारत सम्बन्धमा विश्वासको संकट छ । कुटनीतिक मामिला सञ्चालनमा नेतृत्वको अपरिपक्वताले नेपालको छिमेक सम्बन्धसमेत उत्साहप्रद छैन । दुई छिमेकीसँगको कुटनीतिक व्यवहारमा निरन्तर चुक्दा त्यसको प्रभाव नेपाल भारत सम्बन्धमा पर्दै आएको छ। नेपालले छिमेकीहरूसँग समदूरी नभई, समनिकटताको सम्बन्ध सञ्चालन गर्नुपर्ने परराष्ट्रविदको सुझाव छ ।

झनझन परिवर्तित विश्व परिस्थितिमा नेपाल असुरक्षित बन्दै गएको र नेपालको वैदेशिक मामिला सञ्चालन परिपक्व हुन नसकेको टिप्पणीकाबीच परराष्ट्रमन्त्रीयस्तरीय बैठकमा आफ्ना एजेन्डाहरुको उठान कसरी गर्छ चासोका साथ हेरिएको छ ।