Breaking

प्रचण्डलाई पार्टी चलाउनै धौधौ, आफ्नै नेता–कार्यकर्ता बैरी, जनता कहाँ पुग्नै सकेन


काठमाडौँ – सत्तारुढ दल नेकपा माओवादी केन्द्रको चार महिने ‘जनतासँग माओवादी रुपान्तरण’ अभियान सम्पन्न भएको छ । नारामा जनतासँग भनिए पनि कार्यकर्तामै सीमित भएको अभियानलाई माओवादीले भने सफल भएको समीक्षा गरेको छ । जनतासँग साक्षात्कार गर्न नसकेको माओवादीले अभियानलाई सफल ठान्नु उसका लागि उपलब्धि बनेको छ । तर सत्ताको सुविधामा रहेर पनि संकटग्रस्त अवस्थाबाट पार्टीलाई माथि उठाउने विषयमा भने माओवादीको अभियान हात लाग्यो शून्य रह्यो ।

सत्तारुढ दल माओवादी केन्द्रले पार्टीको खस्कँदो साख र जनाधार फर्काउन, माओवादी केन्द्रको पुरानो विरासत व्युत्याउन नेता कार्यकर्ता जनताको घरदैलोमै पुगेर जनतासँग संवाद सुरु गरेको थियो । माओवादीले गत भदौ १६ गते देशभरका वडास्तरमा एकसाथ जनतासँग माओवादी रुपान्तरण अभियानको सुरुवात गरेको थियो । माओवादी केन्द्रले चार महिना चलेको रुपान्तरण अभियान सफल भएको निष्कर्ष निकालेको छ । पार्टीको संगठन तल्लो तहबाटै चलायमान भएको नेताहरुको दाबी छ । पार्टीको भ्रातृ संगठनहरुमा रहेको अन्तरविरोधको अन्त्य भएको र आशाको झिल्को देखिएको माओवादीको निष्कर्ष छ । साथै अभियान सफल भएकोमा माओवादीले उत्साहित भएको जनाएको छ ।

चार महिने पार्टी रुपान्तरण अभियान सफल भएको उद्घोष गरेको माओवादीको विरासत फर्काउने अभियान यर्थाथमा भने ठिक उल्टो बनेको छ । सत्ता सुविधाको प्रयोग गर्दै पार्टीको जनधार उल्ट्याउने माओवादीको लक्ष्यले लयसमेत दिन सकेन । जनतासँग घर–घरमा पुगेर संवाद गर्ने भनिए पनि कार्यकर्ता कार्यक्षेत्रमा देखिएनन् ।

पार्टीका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँ वडा–वडामा पुग्दा नेता–कार्यकर्ताको उपस्थिति न्यून रह्यो । सत्ताको बलमा संगठन सुधार्ने अध्यक्ष प्रचण्डको सपनामा नेता–कार्यकर्ताको बल पुगेन । बरु प्रचण्ड आफँै वडा तहमा पुगे उनका नेता कार्यकर्ता भने जनतासम्म पुग्न सकेनन् । माओवादीको अभियान जनता लक्षित भए पनि केहि थान कार्यकर्ता भेटमा सक्कियो । अझ पार्टीका प्रभावशाली नेताहरु आ–आफ्नै काममा हराए । सत्ता साक्षी बनाएर संकटग्रस्त अवस्थाबाट पार्टीलाई माथि उठाउने सवालमा माओवादीको अभियान हात लाग्यो शून्य बनेको छ । प्रधानमन्त्री एवंम अध्यक्ष प्रचण्ड आफँैले पनि अभियानका क्रममा नेता–कार्यकर्तामाझ गुनासो गरेरै समय बिताए ।

प्रचण्डको गुनासो ज्यूँका त्यूँ छ । संसदको तेस्रो शक्ति भएर पनि सत्ता हत्याउँदा हर्षित बनेका माओवादी नेता–कार्यकर्ता सत्ता र सेवा सुविधाबाट बञ्चित भएपछि अध्यक्षसँग असन्तुष्ट छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको कुर्सी जोगाए पनि पार्टीका नेताहरु सत्ता र शक्तिविहीन हुँदा पार्टी पंक्तिमा चरम निराशा मात्रै छैन प्रचण्ड पार्टीभित्रै आँखाको तारो बनेका छन् । फलतः माओवादीजन सरकारको कामको प्रचार र प्रसंशा धेरै गर्न इच्छुक देखिँदैनन् । सँगसँगै सरकारमाथि उठेका कतिपय सवालको प्रतिरक्षा गर्नसमेत अग्रसर हुँदैनन् ।

आफ्नै सरकारको बचाउमा माओवादी नेता कार्यकर्ता फितलो देखिन्छन् । कमजोर संसदीय अंकगणितका कारण गठबन्धनमा ढुलमुले प्रवृत्ति देखाइरहेका प्रचण्ड पार्टी पंक्तिकै पेलानमा पनि छन् । प्रचण्डलाई आफ्नै छोरी गंगा पछिल्लो समय एनसेल काण्डमा मुछिएपछि गलपासो बनेको छ । विभिन्न संकटको सामाना गरिरहेका प्रचण्ड सत्ताको घेराबन्दीमा पनि उत्तिकै परेका छन् । तर यी सबै विषयमा माओवादीको रुपान्तरण अभियान देखावटी पनि बन्न सकेन । सत्ता जोगाउन र पार्टीलाई माथि उठाउने उद्देश्य लिएर थालिएको रुपान्तरण अभियानले जनता र कार्यकर्तामा न त उत्साह थप्यो न त पार्टीपंक्तिमा आशा नै ।