अन्तर्राष्ट्रिय

प्रमुख विपक्षी दलका नेतामाथि छुरा प्रहार, किन हुन्छ नेतामाथि यसरी आक्रमण ?



काठमाडौँ – दक्षिण कोरियको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुखमाथि छुरा प्रहारको घटनाले कोरियाको राजनीतिलाई तरंगित बनाएको छ ।

विपक्षी दलका प्रमुख नेता तथा राष्ट्रपतिका उम्मेदवारमाथि चुनाव अघि भएको आक्रमणको सर्वत्र निन्दा भइरहेको छ । साथै उक्त घटनालाई राजनीतिकरण गरेर टिप्पणी हुन थालेको छ ।

मंगलबार बिहान दक्षिण कोरियाका विपक्षी दलका नेता ली जे–म्युङलाई बुसानमा एक व्यक्तिले घाँटीको देब्रे भागमा छुरा प्रहार गरे । आक्रमण गर्ने अन्दाजी ५० वर्षका व्यक्ति पक्राउ परेका छन् । आक्रमणकारीले सुरुमा लीसँग अटोग्राफ मागे र एक्कासी उनलाई छुरा प्रहार गरे ।



आक्रमणको २० मिनेटपछि लीलाई अस्पताल लगिएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार अस्पताल पु¥याउँदासम्म उनी होसमै थिए । आक्रमण भइरहेको बेलाका सामाजिक सञ्जालमा राखिएका भिडिओमा ली पहिला भिडमाथि ढलेका र त्यसपछि जमिनमा पछारिएका थिए । त्यसैबेला थुप्रै मानिसले आक्रमणकारीलाई समात्न खोजेको देखिन्छ ।

५९ वर्षीय ली डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्छन् । उनी अहिले दक्षिण कोरियाली संसद्का सदस्य होइनन् । तर आगामी एप्रिलमा हुने आम निर्वाचनमा उनी उम्मेदवार बन्ने धेरैले ठानेका छन् । उनले सन् २०२२ को राष्ट्रपतिको निर्वाचन ०.७३ प्रतिशतको फरकले हारेका थिए । त्यसबेला युन सुक यीओलले जितेका थिए । दक्षिण राष्ट्रपति निर्वाचनमा कोरियाको इतिहासमै यो असाध्यै झिनो मतान्तरले पराजित भएको घटना थियो । उनी सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनमा फेरि उम्मेदवार बन्ने पनि धेरैले ठानेका छन् । राष्ट्रपति युनले आक्रमणको निन्दा गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका छन् । यसरी विपक्षी नेतामाथि भएको छुरा प्रहारले कोरियाली राजनीति तरंगित बनाएको छ । यसले लीको राजनीतिलाई कस्तो प्रभाव पार्छ त्यो भने भविष्यले निर्धारण गर्ला ।