Breaking

बेरोजगार युवा देश छोड्नदेखि गोली थाप्न तयार, राज्यसँग छैन निकास (भिडियोसहित)

बेरोजगारले सत्ता ढाल्दै


काठमाडौँ – देशमा बेरोजगारी, व्यथिति र भ्रष्टाचार मौलाएपछि जन्मभूमि छोडेर परदेश लाग्ने युवाको संख्या दिनदिनै बढिरहेको छ । सरकारले युवा शक्तिलाई स्वदेशमै राख्ने योजना बनाउन सकेको छैन । विदेशी भूमिका दुःख गर्न जाने सहज वातावरणसमेत छैन ।

बेरोजगारीका कारण विदेशीने युवाको संख्या दिन दुई गुणा र रात चौगुणाले बढिरहेको छ । हिजोसम्म युवाहरू आफ्नो सुन्दर भविष्यको लागि खाडीको मरूभूमिमा आफ्नो पसिना बगाउन जान्थे । अहिले युद्धग्रस्त क्षेत्रमा पराइको भूमि बचाउनका लागि मर्न र मार्नका लागि समेत तयार भएर नेपाली युवाहरू जाने गरेको तथ्यले पनि नेपालमा बेरोजगारी समस्या चरम उत्कर्षमा पुगेको प्रष्ट देखाउँछ ।

परिवर्तनको सुनौलो सपना देखाएर युद्धमा होमिएका पुष्पकमल दाहाल प्रचण्ड देशको बागडोर सम्हाल्न एकचोटि होइन तेस्रो चोटी पुगेका छन् । तर पनि बेरोजगारी, बेथिति र भ्रष्टाचार झन बढेको छ । माओवादीलाई सत्तामा पु¥याउनका लागि १७ हजारले ज्यान गुमाउनु परेको थियो भने, माओवादी सरकारमै रहेको बेला आफ्नै देशमा रोजगारी नपाएर विदेश जान पाउँ भन्दै नारा लाउने दुई युवाले ज्यान गुमाए । देशको अवस्था परिवर्तन गर्छु भन्नेहरू आफ्नो मात्रै अवस्थामा परिवर्तन गर्न लाग्दा देश छाड्नेको संख्या बढेको स्वयं नेताहरू स्वीकार्छन् ।

सर्वहारा जनताको मुक्तिको लागि संघर्ष गरेको पार्टी नै तेस्रोपटक देशको बागडोर सम्हालिरहँदा नयाँ उद्योग स्थापनाको कल्पनासमेत गर्न सकेको छैन । भएका उद्योगधन्दा पनि बन्द भएका छन् । कति बन्द हुने अवस्थामा छन् । स्वदेशमै रोजगारी सिर्जना गर्ने भाषण गर्ने नेताहरू पनि अहिले त्रिभुवन विमानस्थलबाट युवा जनशक्तिहरू विदेशीएको टुलुटुलु हेरिरहेका छन् । देशको बागडोर सम्हालिरहेको प्रधानमन्त्री प्रचण्ड देशमा रोजगारी सिर्जना भन्दा पनि आफ्नै सत्ता टिकाउनका लागि भगिरथा प्रयास गरिरहेका छन् । तर, माओवादीका नेताहरू नेपालमा बेरोजगारीका कारण युवा विदेशिनु अहिलेको नेतृत्वको कारण नभई हिजोको शासकहरूको कामको परिणाम भएको दाबी गर्छन ।

कोही अध्ययनको नाममा त कोही श्रमको नाममा विदेशिरहेका छन् । नेपालीहरू आफ्नो ज्यानको बाजी लगाएर रूस—युक्रेन जस्ता द्वन्दग्रस्त क्षेत्रमा पनि पुगेका छन् । राज्यले आफ्नो देशको नागरिकलाई देश छोड्नका लागि केही दिनको समय मात्र उपलब्ध गराउने हो भने देशमा नेताबाहेक नागरिक भेट्न कठिन हुने अवस्था आएको छ ।

देशमा रोजगार नपाएर आफ्नो परिवारको सुनौलो भविष्यको लागि विदेश जान पाउँ भन्दै आन्दोलन गर्ने युवालाई सरकारले गोली ठोक्न आदेश दिएको छ भने मारिएका नागरिकको ज्यानको मूल्य १० लाख घोषणा गरेर बेरोजगार युवाहरूलाई सरकारले तमासा देखाइरहेको छन् । तर, प्रधानमन्त्री भने सरकारले आफ्नो एक वर्षको कार्यकालमा श्रमिकहरूको लागि प्राथमिकता दिएको दाबी गरिरहेका छन् ।

सर्वहारा जनताको मुक्तिको लागि भन्दै युद्धमा होमिएका कमान्डर प्रचण्डले तेस्रो कार्यकालमा पनि हिजोको दिनमा आम जनताका बीचमा गरेका वाचा पूरा गर्न सकेका छैनन् । मन्त्री बन्ने कीर्तिमानी कायम गरेका श्रममन्त्री शरतसिंह भण्डारी लाज पनि लजाउने गरी विदेश भ्रमणमा मस्त छन् । श्रम मन्त्रीलाई मन्त्रालय आउनुभन्दा पनि विदेश जानुमै फुर्सद मिलेको छैन ।

स्वयं श्रम मन्त्रालयका सचिवदेखि तल्लो तहका कर्मचारी समेत रोजगारी सिर्जनाको योजना बनाउनुभन्दा पनि सिंहदरबारमा घाम तापेर जागिर पकाइरहेका छन् । देशमा उद्योग कलकारखाना सञ्चालन र रोजगारी सिर्जनाका लागि बहस हुनुपर्ने सदन सधैँजसो राजनीतिक हिलो छ्यापाछ्यापमै सीमित हुने गरेको छ ।