Breaking

माइतीघरबाट सिके राउतसहित ५१ जना पक्राउ


जनमत पार्टीका अध्यक्ष सिके राउतलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको माइतीघर मण्डलबाट अध्यक्ष राउतसँगै ५१ जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो।

उनीहरूलाई नेपाल पुलिस क्लबमा राखिएको छ।

अध्यक्ष राउतसहित उनीहरू धोती दिवस मनाउन माइतीघर मण्डलमा पुगेका थिए।

अध्यक्ष राउत लगायतले निषेधित क्षेत्रमा कार्यक्रम गरेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ।

‘निषेधित क्षेत्रमा धोती दिवस मनाउने भन्दै प्रदर्शन गरेपछि उहाँहरूलाई नियन्त्रणमा लिइएको हो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भने।

आफूहरूलाई प्रहरीले पक्राउ गरेको जनमत पार्टीका सचिव बिपी साहले बताए। ‘अध्यक्षसहित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ,’ साहले भने।

प्रहरीले भने मन्त्री अनिता देवी नियन्त्रणमा लिइएका जनमत पार्टीका नेता, कार्यकर्ताहरूलाई लिन प्रहरीकोमा आएको दाबी गरेको छ।