Breaking

१४ छक्कासँगै कर्णालीले एपीएफलाई दियो २०७ रनको लक्ष्य


काठमाडौँ – युवा विकेटकिपर अर्जुन घर्ती र हिमान्शु शाहीको अर्धशतकसँगै कुल १४ छक्काको सहयोगमा कर्णाली प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा नेपाल एपीएफ क्लबलाई २०७ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कर्णार्ली ४४.१ ओभरमा २०६ रनमा अल आउट भयो ।

कर्णालीका मध्यक्रमका ब्याटर हिमान्शु शाहीले ५० बलमा २ चौका र ७ छक्कासहित ६२ रनको एक आक्रामक इनिङ खेले ।

अर्जुन घर्ती ७४ बलमा १ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए । एक समय ३०–३ को अवस्थामा पुगेको कर्णालीलाई हिमान्शु र अर्जुनले १११ रनको शतकीय साझेदारी गर्दै एक समय २७.२ ओभरमा १४१-३ को बलियो अवस्थामा पुर्‍याएका थिए ।
तर बाँकी ६५ रन जोड्दा ७ विकेट गुमाएपछि कर्णालीले विशाल योगफल बनाउने अवसर गुमाएको थियो । टियु एन्डबाट आएका तीव्र गतिका बलर अमरसिंह राउटेला २८ औं ओभरको दोस्रो बलमा टप एज लागेर थर्डम्यानमा उनी रमेश कुर्मीबाट क्याच आउट भए । त्यो विकेट खेलको टर्निङ प्वाइन्ट बन्यो ।
३३ औं ओभरको तेस्रो बलमा सन्दीप जोराले अर्जुनलाई उत्कृष्ट रन आउट गरे । त्यसपछि कर्णालीका ब्याटर धेरै समय क्रिजमा टिक्न सकेनन् । त्यसअघि कर्णालीका ओपनर निश्चल रावल स्पिनर रमेश कुर्मीको बलमा ६ रनमा एज लागेर आसिफ शेखबाट क्याच आउट भएका थिए । राजेश खड्का १ रनमा रन आउट भए ।