Breaking

सूर्यदर्शन सहकारी पीडितको निष्कर्ष : पैसा चलाउने पहुँचवाला अनुसन्धानबाहिरै


काठमाडौँ— सूर्यदर्शन सहकारी पीडितहरुले आफूहरु गठिनुमा १९ जनामात्रै नभएर अझै धेरै दोषी रहेको भन्दै थप अनुसन्धान गर्न माग गरेका छन् ।

सञ्चालकदेखि बाहेक पनि विभिन्न संस्था र व्यक्तिले सहकारीको रकम लगेर अपचलन गरेको हुन सक्ने भन्दै पीडितहरुले थप अनुसन्धान गरेर पूरक प्रतिवेदन बनाउन माग गरेका हुन् ।

सूर्यदर्शन पीडित संघर्ष समितिले थप अनुसन्धानको माग गर्दै आज जिल्ला प्रहरी कार्यालय कास्कीमा निवेदन दिएको छ भने जिल्ला प्रशासन कार्यालय, सरकारी वकिलको कार्यालय, सहकारी विभाग लगायतलाई बोधार्थ पठाएका छन् ।

सहकारीका सञ्चालक समिति सदस्य तथा सफ्टवेयर निर्माणकर्ता भबेश्वर अर्यालले अदालतको बयानमै प्रतिवेदन नै अधुरो रहेको बताएका थिए । पीडितहरुले थप अनुसन्धान गरेर जो सुकै भए पनि कानुनी दायरामा ल्याउन माग गरेका हुन् ।

समस्या आएपछि गत भदौ २१ गते सहकारीमा प्रहरीले ताला लगाएर थप अनुसनधान अगाडि बढाएको थियो । पोखरा महानगरले बनाएको विज्ञ समूहले गत असोजमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनले दोषी ठहर गरेकाबाहेक अरु पनि व्यक्ति दोषी रहेको र उनीलाई पनि पूरक अनुसन्धानबाट कारबाहीमा ल्याउनुपर्ने संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताए ।

२ देखि ३ सय व्यक्तिलाई प्रतिवादी बनाएर जानुपर्ने देखिएको उनको भनाइ थियो । गलत प्रक्रियाले पैसा लगेर लामो समयसम्म एकपैसा पनि फिर्ता नगरेका र गलत तरिकाले कारोबार गरेका विभिन्न व्यक्ति, संघ संस्थालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने पीडितको माग छ ।

‘प्रतिवेदनमा यिनै व्यक्ति तथा संघ सस्थाको कुनै ठेगाना र पारिवारिक विवरण नै उल्लेख गरिएको छैन,’ पीडितले प्रहरी कार्यालयमा दिएको निवेदनमा भनेका छन्, ‘यस संस्थाको रकम हिनामिना गरी सारा जनतालाई पीडा दिने मानिस केबल प्रकाउ पुर्जी जारी भएका १९ जाना मात्र होइनन् ।’

राजनीतिक दलका नेतादेखि विभिन्न व्यापारी, व्यवसायी धेरैले शक्तिको आडमा सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको निश्कर्ष पीडितले निकालेका छन् ।

अहिलेसम्म सूर्यदर्शन सहकारी ठगीको आरोपमा पक्राउ परेका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल पुर्पक्षका लागि थुनामै छन् । सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी) सहित १९ जनाविरूद्ध भदौ २५ गते पक्राउ पुर्जी जारी भएपछि जिबी राईसहित १५ जना अझै फरार छन् ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले आइतबार संस्थापक अध्यक्ष जीवीसहित वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भुपेन्द्र राईविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको छ । १ अर्ब ११ करोड हिनामिना गरेको आरोप सूर्यदर्शन सहकारीका १९ जनामाथि छ ।

सहकारीका सञ्चालक भविश्वर अर्याल र पूर्वसञ्चालक महेन्द्र भोटे पुस १७ गते अदालतमा उपस्थित भएका थिए भने जिल्ला अदालत कास्कीले १८ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।