Breaking

बिपीका उपकुलपतिमाथि दुर्व्यवहारको प्रयास, तीन जना पक्राउ


काठमाडौँ— बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीमाथि आज प्रतिष्ठान परिसरमै दुर्व्यवहार भएको छ।

उपकुलपतिको कार्यकक्षमा भेट्न गएका तीन जनाले उनीमाथि मोसो दल्ने प्रयास गरेको भन्दै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीका अनुसार दिउँसो १ बजेतिर कामु उपकुलपति कार्कीले भेट्न बोलाएका तीनमध्ये एक जनाले बोतलमा भरेर लगेको मोविल प्रहार गर्न खोजेका थिए।

‘तीनमध्ये एक जनाले मोविल प्रहार गर्न खोज्दा त्यहाँ खटिएको प्रहरीले तत्कालै नियन्त्रणमा लिएको छ,’ भण्डारीले भने, ‘भिसी सरलाई केही पनि हुन पाएन। अहिले नियन्त्रणमा लिइएका तीन जनामाथि अनुसन्धान भइरहेको छ।’

प्रहरीले नियन्त्रणमा लिएका तीन जनाबारे थप बताउन चाहेन। डिएसपी भण्डारीले अनुसन्धान जारी रहेको र पक्राउ परेकाबारे विस्तारै खुल्ने बताए।

प्रतिष्ठान केही समययता फेरि अशान्त छ। खासगरी शिक्षक तथा कर्मचारीहरूले बढुवा माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूले कामु उपकुलपति कार्की आफ्नो माग पूरा गराउन बाधक बनेको आरोप आन्दोलनकारीको छ।

ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतबारदेखि ओपिडी सेवा आंशिक रूपमा सुरू भएको थियो।

आन्दोलनरत शिक्षक चिकित्सकहरूबाहेक प्रोफेसर र जुनियर रेसिडेन्टहरूले ओपिडी सेवा आंशिक रूपमा भएपनि सञ्चालनमा ल्याएका हुन्।

प्रोफेसर र जेआरहरू पदोन्नति माग गर्नेमा पर्दैनन्। त्यसबाहेकका एसिस्टेन्ट प्रोफेसर, एशोसिएट प्रोफेसर र एडिस्नल प्रोफेसरहरू मात्र बढुवाको माग गर्ने चिकित्सकहरू हुन्।

यस्तै, नर्सिङ र कर्मचारीहरू पनि आन्दोलनमा छन्। बढुवा हुनु नपर्ने कर्मचारीहरूलाई पनि कर्मचारी कल्याण समाजले आन्दोलनमा सहभागी हुन बाध्यकारी नभएको बताउँदै आएको छ। आन्दोलन जारी अवस्थामा भए पनि आइतबारदेखि नै ओपिडी खुल्न सुरू भएको सहायक अस्पताल निर्देशक डा। इन्द्र लिम्बुले जानकारी दिए।

बढुवाको माग गर्दै आन्दोलनरत शिक्षक, कर्मचारीहरूले सेवा बहिष्कार गरेपछि पुस २९ गतेदेखि नै ओपिडी सेवा र विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको थियो।

उच्च अदालत विराटनगरले तत्काल बढुवा नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको र प्रतिष्ठानले पनि बढुवा प्रक्रिया तत्काललाई स्थगन गरेको जानकारी दिँदै काममा फर्कन अपिल गरेपनि आन्दोलनरत पक्षले भद्र अवज्ञा आन्दोलन जारी राखेका छन्।