Breaking

आरजु तर्साउन प्रेम सुवालले टेबल ठोके,मन्त्रीमाथि गोकुलको हमला,धनराजले सांसदलाई शब्दकोष पढ्न भनेपछि..


काठमाडौँ – संसदको अधिवेशन चालु नरहेको अवस्थामा मिनी संसदका रुपमा रहेका संसदीय समितिहरुमा विधेयकहरुमाथि छलफल चलिरहेको छ । तर पछिल्लो केहि समययता समितिमा पनि सांसदहरुको चर्काचर्कीले हद नै पार गरेको छ । सभापतिले निर्देशन दिनुपर्ने समितिमा मन्त्रीहरुले हस्तक्षेप गर्न थालेपछि सोमबार मात्रै समितिमा टेबुल ठोकाठोकको अवस्था बन्यो ।

संसदीय समितिमा सभापति हुँदाहुँदै मन्त्री जान्ने पल्टिएपछि सांसद प्रेम सुवाल र गोकुल बाँस्कोटाले मन्त्रीको धरातल नै देखाइदिए ।
घटना १ ः प्रतिनिधिसभाको कृषि समितिमा खाद्य स्वच्छता विधेयकको संशोधनकर्ता सांसदहरुबीच छलफल चलिरहेको थियो । सुरुवातमै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र सभापति आरजु राणा देउवामाथि खरो रुपमा उत्रिएका सांसद प्रेम सुवालले खाद्यान्न मिसावटका कारण मानिसमा रोग बढेको भन्दै समितिको ध्यानाकर्षण गराएका थिए । प्रजातान्त्रिक समाजवाद मान्ने कांग्रेसकै रिजाल मन्त्री भएकाले सरकार आफैँले खाद्यान्न उत्पादन गर्नुपर्ने र आयात नै गर्नुपर्ने अवस्था आएपनि सरकार आफैँले गर्नुपर्ने बताउँदै थिए । निजी संस्थालाई खाद्यान्न आयातको जिम्मा दिँदा मिसावट गरेर जनताको स्वास्थ्यमाथि खेलबाड भइरहेको भन्दै सुवालले ध्यानाकर्षण गराए । मन्त्री झण्डावाल गाडीमा हिँड्नका लागि मात्रै नभएकाले काम गर्न उनले भनिरहेका थिए । बोल्दै जाँदा झनै आक्रोशित बनेका सुवाललाई सभापति आरजुलै नै टू दी पोइन्टमा आउन भन्छिन् । लगत्तै सुवालले पनि तपाईंहरुलाई घोचेको मन पर्दैन भन्दै प्रजातान्त्रिक समाजवाद र बीपी कोइरालालाई बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमै बेचेको अभिव्यक्ति दिए । सुवालले हरेक प्रधानमन्त्रीले भ्रष्टाचार गरेको बताउँदा बिचमा प्याच्च बोल्दै मन्त्री रिजालले त्यतापट्टि नजाउँ भनेपछि सुवाल झनै कड्किए ।

घटना २ ः सोमबारै मन्त्री रिजालले एमाले सांसद गोकुल बाँस्कोटाको आक्रोश पनि खेपे । सभापतिले गर्नुपर्ने रुलिङ मन्त्रीले गरेपछि उनी आक्रोशित बनेका थिए । उनले बास्कोटालाई मन्तव्य छिटो टुंग्याउन भन्दै लगातार निर्देशन दिइरहेपछि बास्कोटा आक्रोशित बने । त्यसपछि बैठकमा केहीबेर चर्काचर्की नै प¥यो ।

आइतबार मात्रै पनि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सांसदहरूले एउटै विषयलाई दोहो¥याएको र समयको ख्याल नराखेको भन्दै असन्तुष्टि पोखे । समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि संशोधन राख्ने सदस्यहरुले धारणा राखेका थिए । जसमा राजनीतिक दलको आवरणमा अपराध गरे उसलाई कानुन नलाग्नेसम्मका व्यवस्था गरिएका छन् । सांसदहरुले विधेयक कानुनमन्त्रीले खुसुक्क ल्याएको भन्दै असन्तुष्टि जनाएका थिए । तर आफ्नो नियतमाथि प्रश्न उठाएको भन्दै कड्किएका मन्त्री गुरुङले सांसदहरूलाई केटाकेटी आए, गुलेली खेलाए मट्यांग्राको सत्यानाश भन्दै आक्रोश पोखे ।

आफूलाई निष्ठाको राजनीति गरेको बताउने गुरुङलाई मन्त्री भएदेखि निष्ठा खतम भएको ख्यालै छैन । त्यसमाथि नयाँ केही सांसदहरुले विधेयकका केस्रा केलाउन खोज्दा केटाकेटीको संज्ञा दिए । राजनीतिमा बुढापाकाको हैकम रहने नेपालको राजनीतिमा युवा सांसद उदाएको अवस्थामा मन्त्री गुरुङको यो अभिव्यक्ति पदीय मर्यादा विपरीत छ । संसदको अधिवेशन चल्दा बाझेर बस्ने मन्त्री र सांसदले त्यो मौका नहुँदा संसदीय समितिलाई पनि त्यही थलो बनाइरहेका छन् । माननीयहरुका बोलीमा पनि लगाम लागेको छैन । संसदमा सहमति हुन नसकेका विधेयकमा गहन मन्थन गरेर सहमति निकाल्ने ठाउँमै व्यक्तिगत रिसिइबी साँध्ने थलो बनाइनु दुःखद् हो ।

समितिमा विचारको मन्थन भइरहँदा त्यसलाई रोक्ने प्रयास हुनु पनि संसदीय मर्यादा विपरीत ठहरिन्छ । कानुन निर्माताका रुपमा रहेका माननीयहरुले आफ्नो पदीय हैसियत र जिम्मेवारी भूल्नु विडम्बना हो भने मन्त्री भएकै भरमा संसदीय समितिमा प्रस्तुत दादागिरी शैली पनि कम आलोचित हर्कत होइन । मर्यादामा रहेर विचारमाथि हुने चर्को बहस र मन्थनले भने परिणमुखी नीति निर्माणमा सही भूमिका खेलोस्, ता कि कसैमाथि पूर्वाग्रही र विभेदपूर्ण भने नबनोस् । आम नागरिकको अपेक्षा यही छ ।