Breaking

ललितपुर घटनाको अनुसन्धानमा खटियो तालिम प्राप्त कुकुर


काठमाडौँ— ललितपुरमा मृत फेला परेकी जर्मन महिलाको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुर झिकाइएको छ।

आज बिहान करिब १० बजे ललितपुर महानगरपालिका-१६ नागबहालस्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टमा एक जना महिला मृत फेला परेकी हुन्। ती महिला अन्दाजी ५२ -५५ वर्षकी एडिलहाइड स्नेकनबर्गर डोरा हुन्।

दुई वर्षदेखि उक्त अपार्टमेन्टमा बस्दै आएकी उनको मृत्यु भएको खबर पाएपछि जिल्ला प्रहरी परिसर ललितपुरबाट एसएसपी शेखर खनालसहित अनुसन्धानको टोली खटिएको छ।

अहिलेसम्म महिलाको मृत्युको कारण खुलिनसकेको एसपी नवराज कार्कीले जानकारी दिए। महिलाको टाउकोमा चोट लागेको छ।

अहिले घटनाको अनुसन्धानका लागि फरेन्सिक चिकित्सक र तालिम प्राप्त कुकुर झिकाइएको हो।

केनाइनबाट ल्याइएको तालिम प्राप्त कुकुर बेल्जियन शेफर्ड प्रजातिको ‘रोज’ हो। कुकुरले पनि केही पत्ता नलगाएको प्रहरीले जनाएको छ। उक्त कुकुर यसअघि तीनकुनेमा भएको सामूहिक हत्याकाण्डमा पनि प्रयोग भएको थियो। त्यसमा अनुसन्धानमा सहयोग पुर्‍याएपछि ‘डग अफ द इयर’ को उपाधि समेत पाएको थियो। मृतक महिला मिर्गौलाकी बिरामी समेत थिइन्। प्रहरीले मुचुल्का गरी शव पोष्टमर्टमका लागि लग्ने तयारी गरिरहेको छ।