Breaking

देउवाका मन्त्रीबारे प्रश्नै प्रश्न, प्रचण्ड घेर्दै गगन, मन्त्री नफेर्ने देउवाको अडान (भिडियोसहित)

प्रचण्डको तगारो देउवा


काठमाडौँ – नेपाली कांग्रेसको तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठकमा राज्यका राष्ट्रिय एजेण्डासँगै भुई मान्छेका सवालहरूमा गम्भीर बहस हुने आकलन थियो ।

देशमा घटित राजनीतिक घटनाक्रमले सडकमा देखिएको असन्तुष्टि र भ्रष्टाचारको मुद्दालाई पनि सम्बोधन गर्ने अपेक्षा गरिएको थियो । तर, ठूलो आश गरिएको बैठक आम जनताका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ ।
कांग्रेसले के निर्णय गर्छ भन्ने चासो पार्टी लगायत गठबन्धन र प्रतिपक्षीलाई समेत हुने गर्छ । देशकै ठूलो दल भएको नाताले पनि सबै राजनीतिक दल तथा आम जनताले पनि चासो राख्नु अस्वभाविक होइन । तर, सत्ता र पार्टीको छिनोफानो गर्ने भन्दै पुस १२ देखि तीन दिन बसेको नेपाली कांग्रेसको बैठक ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएको छ ।

बैठकले समसामयिक विषय, राष्ट्रियसभा निर्वाचन, महासमिति बैठक र मन्त्रीहरुको कामको समीक्षालगायत ११ वटा निर्णय लियो । तर जनताको दैनिक जीवनको समस्यालाई सम्बोधन गर्ने खालका सवालमा भने केही सन्देश दिन सकेन । बैठकमा पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको व्यापक आलोचना भयो । सरकारमा गएका मन्त्रीहरूले पार्टीको शिर ठाडो हुने काम गर्न नसकेको भन्दै मन्त्रीहरूको कार्यसम्पादनलाई लिएर नेताहरूले प्रश्न उठाएका थिए ।

पार्टीले नौ मन्त्रालयको नेतृत्व गरिरहँदा पनि परिणाम दिन नसकेको र जनताले पार्टीलाई भ्रष्टाचारमा मुछिएको दलको रुपमा चित्रित गर्न थालेको भन्दै मन्त्रीहरूको कार्यसम्पादनमा असन्तुष्टि जनाएका प्रदीप पौडेलले अब पनि सरकार र मन्त्रीहरूले कार्यशैली सुधारेर नजाने हो भने ०८४ मा गाह्रो पर्ने बताएका थिए ।

कांग्रेस सरकारमा सामेल भएको आठ महिना भयो । तर, आठ महिनामा गरेको आठ कामको सूची दिनसमेत कांग्रेस असमर्थ छ । सरकारमा हुँदा नै मिसन ०८४ भन्न नपाउने र गुणस्तर स्वास्थ्य, शिक्षालगयातका क्षेत्रमा तत्काल काम गर्नु पर्ने महामन्त्री गगन थापाले बताएका छन् । थुना मुक्त भई वर्षदिन पछि बालकृष्ण खाण झुल्किदा शेखर कोइराला अनुपस्थित बैठकमा महामन्त्री थापाले काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाउनु पर्ने बताए ।

पार्टीको बैठकले न त कुनै राष्ट्रिय एजेण्डामा आवाज उठायो न त जनजीविकाका सवाललाई सम्बोधन गर्याे । पार्टीको भातृ संघको सकिसकेको अवधिलाई छ महिना थप्दा कार्यकर्तालाई समेत सकारात्मक सन्देश दिन चुकेको कांग्रेस बैठक जनजीविकाको मुद्दा उठाउने विषयमा नराम्रारी चुक्यो । यति मात्रै होइन विचार र सिद्धान्तमासमेत कांग्रेस नग्न भएको छ ।

यसअघि बैठकलाई प्रत्येक्ष प्रसारण गरेकोमा नै सफलताको हुंकार गरेको कांग्रेसले अहिले त्यसलाई पनि तुहाइदिएको छ । सरकार र मन्त्रीको समीक्षा गर्न बसेको कांग्रेस बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीका मन्त्रीहरूले काम गर्न नसकेको आवाज ठूलै स्वरमा उठाए पनि सभापति शेरबहादुर देउवाले मन्त्रीहरूको बचाउ गर्दा मन्त्री फेरबदलको कुराले सार्थकता पाउन सकेन । अहिले नै मन्त्री फेर्ने कुरो हतारो हुने भन्दै देउवा सरकार र आफ्ना मन्त्रीहरूको रक्षामा उत्रिए ।

मन्त्रिपरिषद्का बैठकहरूमा प्रधानमन्त्री पुष्पकमल दाहालले काम गर्न नसके पद छोड्दा हुने सांकेतिक रुपमा निर्देशन दिइनै सकेको अवस्था छ । तर, देउवा तत्काल मन्त्री फेरबदल गर्ने मनस्थितिमा नहुँदा प्रचण्डलाई केही असहज भएको देखिन्छ । समग्रमा कांग्रेस बैठकको निष्कर्ष देउवाले प्रचण्डलाई बोक्ने, तर तत्काल मन्त्रिमण्डल भने यथास्थितिमा नै रहने बुझिन्छ ।

पार्टीका अधिकांशले सरकार र मन्त्रीहरूको आलोचना गरे । तर, मुलुकको जेठो लोकतान्त्रिक दल कांग्रेस केन्द्रीय बैठकमा सैद्धान्तिक पक्षधर्ता भन्दा पनि व्यक्ति पक्षधर्ता हावी हुँदा नियतवश ओझेलमा पारेको प्रष्ट भएको छ ।