Breaking

१०० दिनसम्म सडक बन्द गर्ने पाल्पाको निर्णयमा रुपन्देही असहमत, सीडीओ अर्यालले गरे छुट्टै निर्णय


काठमाडौँ- बुटवल-पाल्पा जोड्ने सिद्धबाबा सुरुङमार्ग निर्माण गर्न यही पुस १६ गतेदेखि एक सय दिनसम्म सिद्धार्थ राजमार्ग दैनिक ६ घण्टा बन्द गर्ने पाल्पा प्रशासनको निर्णयमा रुपन्देही प्रशासनले असहमति जनाएको छ । पाल्पाको निर्णयमा असहमत रुपन्देही प्रशासनले अलग्गै निर्णय गरेर सार्वजनिक गरेको छ ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले यही पुस ८ गते सुरुङमार्ग निर्माणलाई सहज बनाउन भन्दै पुस १६ गतेदेखि एक सय दिनसम्म राति १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सन्चालनमा रोक लगाउने निर्णय सार्वजनिक गरेका थिए । तर रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले एकैपटक एक सय दिन दिनसम्म सडक बन्द गर्ने निर्णय उपयुुक्त नभएको जनाएका छन् ।

पाल्पा प्रशासनले सडक बन्द गर्ने निर्णय गर्दा सुरुङमार्ग निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई कामको प्रगतिबारे शर्त नराखिएको, सडक प्रयोगकर्तालाई वैकल्पिक मार्गको विषयमा उल्लेख नगरिएको र माघे संक्रान्तिमा लाग्ने रिडी स्नान मेलाबारे ख्याल नगरिएकाले आफूहरुले अलग निर्णय गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।