Breaking

जनता झुक्याउन चतुर प्रचण्ड, नयाँ शैली कस्तो ? ‘जो आए पनि कानै चिरेका’ (भिडियोसहित)

प्रचण्डका भाकल सबै अपूरा


काठमाडौँ – चुनावी नारा र प्रतिवद्धतामा दलहरूले प्रतिष्पर्धा गर्छन । तर, च्ुनाव जितेपछि प्रतिवद्धताअनुसार कोही पनि हिड्दैनन् । ती प्रतिवद्धता केबल जनता झुक्याउने भाकल मात्रै हुने गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रतिवद्धता पनि नारामै सीमित हुँदै गएको छ ।

सत्ययुगमा मानव जातिले देवीदेवतासँग आफ्नो इच्छा पूरा गरिदिनका लागि अनेकौं भाकल गर्थे । उक्त भाकल पूरा गर्न हरदम तयार रहन्थे । अहिले कलियुगमा सत्तामा पुग्नका लागि नेताहरूले जनतासामु अनेकौं भाकल गर्छन । तर, उक्त भाकल पूरा गर्न तत्पर रहदैनन् । सायद सत्ययुगमा भएको भए भाकल पुरा नगर्नेलाई केही न केही साजय हुने थियो । यद्यपि, कलियुगका नेताहरू सत्ता र शक्तिको लागि बारम्बार जनताका अगाडि भाकल गरिरहन्छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतासामू अनेक भाकल गर्दै आएका छन् । तर, ती भाकल पूरा गर्नेतर्फ प्रचण्ड अघि बढेको देखिदैन । अनेकौं परिवर्तन र सुशासनको बाचा गरेर पूरा नगर्ने अग्रभागमा स्वयं प्रचण्ड छन् ।

२०७९ साल पुस १० गते देश र जनताको लागि केही परिवर्तन गर्ने अठोटका साथ देशको बागडोर सम्हालेका प्रचण्डले आफ्नो एक वर्षीय कार्यकाल व्यतित गरिसक्दा परिवर्तन शब्दमा बाहेक व्यवहारमा महसुस गर्न सकिएको छैन । एक वर्षे कार्यकालमा परिवर्तन गर्न नसकेको स्वयं प्रचण्ड नै स्वीकार्छन् ।

यद्यपि, प्रचण्डको हुटहुटी भने कायमै छ । अब नयाँ शैलीका साथ काम गर्ने उनको जिकिर छ । तर, व्यवहारमा त्यस्तो कुनै छनक देखिएको छैन । निर्वाचनबाट संसदको तेस्रो दल भए पनि सरकारको नेतृत्व गर्ने अवसर प्रचण्डले पाएका छन् । पहिलो दल कांग्रेस र दोस्रो दल एमाले विभाजित भएको अवस्थामा तेस्रो दलले अवसर पाएको हो । विश्लेषकहरू प्रचण्ड सरकारको एक वर्ष औषत रहेको विश्लेषण गर्छन ।

प्रचण्डले सत्ता सम्हालेको सुरूवाती दिनहरूमा भ्रष्टाचारका केही फाइलहरू खुले पनि फाइलको शीर्षकमा आफ्नै पार्टीका नेता भेटिएपछि अगाडि बढ्न सकेन । सुशासनतर्फ सकारात्मक सुरूवात गरेपनि नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन काण्डमा सबभन्दा धेरै प्रश्न उठ्यो । केही सूचक सकारात्मक भएपनि अर्थतन्त्रको समस्या कायमै छ । संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण हुन सकेका छैनन् । प्रधानमन्त्री योजनाविहीन ढंगले चलेको तथा धेरै समय उद्घाटन, शिलान्यास र भाषणका कार्यक्रममा समय खर्चिएकाले परिणाम नआएको विश्लेषकहरू बताउँछन् ।

पहिलो र दोस्रो कार्यकाल अनुभव नभएका कारण धेरै काम गर्न नसकेको भन्दै तेस्रो कार्यकालमा देश र जनताका लागि केही गरेर देखाउने प्रचण्डको वाचा थियो । तर, त्यो बाचा भाषणमै सीमित हुने चरणमा छ । कार्यशैलीमा परिवर्तन नल्याउने हो भने यसअघिभन्दा प्रचण्डको कार्यकाल फरक हुने छैन । सामाजिक न्याय, सुशासन र समृद्धि नारामै सीमित हुने छ । जो आए पनि कानै चिरेको नेपाली उखान झै नेताहरूको कार्यशैली परिवर्तन नहुने हो भने जनताले परिवर्तनको महसुुस गर्न पाउने छैनन् । परिवर्तन प्रधानमन्त्री आफैँबाट सुरु नगरी खोक्रा भाषणले मात्रै केही हुने छैन ।