Breaking

देश छोडेर अमेरिका जाने चिनियाँ नागरिक ह्वात्तै बढे, कडा कारबाही गर्ने अमेरिकी चेतावनी

चिनियाँको अमेरिका मोह


काठमाडौँ – पछिल्लो समय गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्ने चिनियाँ नागरिकको संख्या बढ्दै गएको छ । विकासउन्मुख देशका नागरिक मात्रै होइन, विकसित मुलुकका नागरिकको सपना पनि अमेरिका बनेको छ । गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्नेको संख्या बढेसगैँ चीनजस्तो शक्तिशाली राष्ट्रलाई समेत दबाब महसुस भएको छ ।

अमेरिकाको नाम सुन्ने बित्तिकै प्रायःको कान ठाडो हुने गर्छ । अमेरिका पुग्नकै लागि मानिसहरु ज्यानको बाजी लगाउन समेत तयार हु्न्छन् । नेपालजस्तो विकास उन्मुख देशका नागरिक मात्रै होइन, शक्तिशाली चीनका नागरिकको सपनाको देश पनि अमेरिका बन्न पुगेको देखिन्छ । विश्वब्यापीकरणले मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा पुग्न सजिलो बनाइदिएको छ । एक देशबाट अर्को देशमा जानेको संख्या पनि बढ्दो छ ।

अमेरिका प्रवेश गर्ने मेक्सिकोको सिमानातर्फ आप्रवासीहरूमा नसोचेको देश अर्थात् चीनका नागरिकको संख्यामा भारी वृद्धि देखिएको छ । लामो दूरी र यात्राको कठिनाइको बाबजुद गत वर्ष २४ हजारभन्दा बढी चिनियाँ नागरिक मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने प्रयास गर्दा अमेरिकी अध्यागमनको हिरासतमा परेका थिए । अमेरिकी सरकारी तथ्यांकअनुसार यो संख्या अघिल्लो १० वर्षको कुल संख्याभन्दा बढी हो ।

मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने चिनियाँहरू सामान्यतया पहिले जहाजमार्फत इक्वेडर ओर्लन्छन्, जहाँ चिनियाँहरूलाई भिसा आवश्यक पर्दैन । त्यसपछि, उनीहरू द्वन्द्वग्रस्त मध्य तथा दक्षिण अमेरिकी देश र विपन्न अफ्रिकी र एसियाली देशका हजारौँ आप्रवासीजस्तै कोलम्बिया र पानामाबीचको खतरनाक जंगल हुँदै अमेरिका पु¥याउने तस्करको साथ लाग्ने गरेको पाइन्छ । लामो यात्रापछि मेक्सिको–सीमा पार गरेर अमेरिका प्रवेश गरेपछि उनीहरू अध्यागमन अधिकारीकहाँ आत्मसमर्पण गर्छन् र शरणका लागि आवेदन दिन्छन् ।

अमेरिकाको अध्यागमन अदालतमा शरणको माग पेस गर्ने अन्य देशका मानिसहरूको तुलनामा चिनियाँ नागरिकहरू बढी सफल छन् । यही सफलताले नै अमेरिका पुगेका चिनियाँका परिचितहरूलाई उस्तै यात्राका लागि प्रेरित गर्छ । जसले अमेरिकामा बस्ने अनुमति पाउँदैनन्, तिनलाई चीनले सामान्यतया फिर्ता लिँदैन । चीनसहित विश्वका करिब एक दर्जन देश अमेरिकी अध्यागमनले फिर्ता गर्नेका नागरिकलाई स्वीकार्दैनन् । अमेरिकाले ‘डिपोर्ट’का लागि अन्तिम आदेश दिएका १३ लाख आप्रवासीमध्ये करिब एक लाख चिनियाँ रहेका छन् । गत वर्ष ‘ड्यारियन ग्याप’बाट दुई लाख ४८ हजारले यात्रा गरेकोमा यो वर्ष अहिलेसम्म चार लाख ८१ हजार मानिसले जंगल पार गरिसकेको पानामाका अधिकारीहरूले बताएका छन् । अवैध रूपमा अमेरिका जाने आप्रवासीको भिडमा तुलनात्मक रुपमा सम्पन्न र सुरक्षित चिनियाँहरूको ठूलो संख्याले धेरैलाई आश्चर्यचकित बनाएको छ । पानामाको जंगल हुँदै अमेरिकातर्फ लाग्ने समुदायमा चिनियाँहरू अहिले चौथो ठूलो समूह बनेको पछिल्लो तथ्यांकले बताउँछ  ।

अमेरिकी सरकारको तथ्यांकअनुसार यस आर्थिक वर्षमा २४ हजार भन्दा बढी चिनियाँ अमेरिका–मेक्सिको सीमामा पक्राउ परेका छन् । जबकि, पछिल्लो १० वर्षमा कुल १५ हजार भन्दा कम चिनियाँ आप्रवासी मात्र अवैध रूपमा अमेरिकाको दक्षिणी सीमा पार गर्ने क्रममा पक्राउ परेका थिए । चिनियाँ आप्रवासीको हकमा ‘डिपोर्ट’ गर्न आदेश पाएकाहरूलाई पनि देश फर्काउन सकिएको छैन ।

चीन सरकारले फिर्ता नलिने आवस्थामा अमेरिकाको बसाइ लम्बिने र यसले अमेरिका आउन चाहनेलाई थप प्रोत्साहित गरेको विश्लेषकको ठम्याइ छ । तथापि, कामकाजी उमेरका चिनियाँ नागरिकको अमेरिका तथा अन्यत्र पलायनले चीनलाई दीर्घकालीन चुनौती दिने विश्लेषण भइरहेको छ ।