Breaking

सरकारको एक वर्ष : आर्थिक कसीमा कति सफल ? अर्थमन्त्रीमाथि प्रचण्डको निसाना (भिडियोसहित)

बजारमा पैसाकै अभाव


काठमाडौँ – सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक एक वर्षे अवधि पूरा गरेका छन् । यसअघि दुबै पटक प्रचण्डको कार्यकाल ९ महिनाको थियो । अवधिको हिसाबले प्रचण्डले आफ्नै रेकर्ड तोडेका छन् । आर्थिक उपलब्धिका हिसाबले कस्तो रह्यो त प्रचण्ड सरकारको एक वर्ष ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालको सपथ लिँदै गर्दा जनताले सम्झनलायक काम गर्ने र अर्थतन्त्रका सूचकमा परिवर्तन ल्याउने अठोट लिएका थिए । अर्थमन्त्रीको जिम्मेवारी संसदको सबैभन्दा ठूलो दल कांग्रेसका नेता डा। प्रकाशशरण महतलाई दिए ।

प्रचण्डले देशको बागडोर सम्हाल्दै गर्दा मुलुकको विदेशी विनिमय सन्चिति खस्किँदै गएको र जनता महंगीको मारमा पिल्सिएका छन् । यो एक वर्षको अवधिमा अर्थतन्त्रको बाह्य सूचकमा सुधार देखिए महंगीले आकाश छोएको छ । व्यापारीहरू सटर बन्द गरेर हिड्ने अवस्थामा पुगेका छन् । देशको अर्थतन्त्र श्रीलंकाको अवस्थामा पुग्ने चर्चाका बीच प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारबारे छलफल पनि चलाए । आफ्नै अध्यक्षतामा एउटा समिति पनि बनाएका छन् । तर, अर्थतन्त्र ट्याकमा आइसकेको छैन ।


समृद्धिको नारा कागजमा सीमित भएको छ । रोजगारीकै लागि विदेश जाने युवाको लाइन विमानस्थलमा घटेको छैन । एकातिर कर्जाको माग नहुने, अर्कोतर्फ महँगो ब्याज तिर्नुपर्ने स्थितिले बैंकिङ्ग क्षेत्र प्रभावित भएको छ । बजारमा लगानीको वातावरण नहुँदा राष्ट्रिय उत्पादनसमेत खुम्चिन पुगेको छ । यद्यपि, शोधनान्तर स्थितिमा सुधार आएको छ । चालु आर्थिक वर्षको पछिल्लो तथ्यांक अनुसार कात्तिक मसान्तसम्ममा मुलुकको शोधान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रूपैयाँले बचतमा देखिएको छ ।

केन्द्रीय बैंकको पछिल्लो तथ्यांक अनुसार कात्तिक मसान्तसम्मको वार्षिक उपभोक्ता मुद्रास्फीति ५।३८ प्रतिशत छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अहिलेको सरकारबाट परिवर्तन र विकासको आस गर्न नसकिने दाबी गरेको छ ।

प्रचण्डले देशको नेतृत्व सम्हालेदेखि विभिन्न काण्ड र प्रकरणले चर्चा पाइरह्यो । एनसेल प्रकरण अहिले पनि चर्चामा छ । पछिल्ला दिनमा मौद्रिक नीतिबाट अर्थतन्त्रमा केही सुधार ल्याउने प्रयास भए पनि परिणाम देखिसकेको छैन । प्रचण्ड यसअघि प्रधानमन्त्री हुँदा ९ महिना मात्रै सत्तामा बसेका थिए । तेस्रो पटक १२ महिना पूरा गरेका छन् । प्रचण्डका लागि अघिल्ला सरकारसँग तुलना गर्ने हो भने सायद यही नै उनको तेस्रो सरकारको सबैभन्दा ठूलो उपलब्धि हो ।