Breaking

बिरामीको गास खोस्दै स्वास्थ्यमन्त्री, राणाले दिएको वीरको खाना गणतन्त्रले लग्यो, राज्यकोषमा बस्नेतको ब्रह्मलुट

असफल स्वास्थ्यमन्त्री बस्नेत


बिरामीको गास खोस्दै स्वास्थ्यमन्त्री, राणाले दिएको वीरको खाना गणतन्त्रले लग्यो, राज्यकोषमा बस्नेतको ब्रह्मलुट
असफल स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ मन्त्री नियुुक्त भएदेखि नै विभिन्न विवादमा फस्दै आएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत फेरि अर्को विवादमा तानिएका छन् । १३३ वर्षदेखि वीर अस्पतालमा बिरामीलाई दिँदै आएको खाजा–खाना बन्द गराएपछि फेरि अर्को विवादमा तानिएका छन् ।

देशकै जेठो वीर अस्पताल दुर्गममा सिटामोल नपाएका जनताहरुका लागिसमेत अन्तिम आशाको केन्द्र हो । तर, समाजवादको पैरवी गरेर नथाक्ने स्वास्थ्यमन्त्री मोहन बस्नेतले गरिब दुखी बिरामीको पेटमा लात हानेका छन् । अस्पताल स्थापनाकाल अथवा १३३ वर्षदेखि वीर अस्पतालका बिरामीलाई दिइने खाना र खाजाको बजेट कटौती गरेको छ । काठमाडौं बाहिरबाट आएका बिरामीका लागि अस्पतालले खाजा र खाना दिँदा बिरामीले ठूलो राहत महसुस गर्ने गरेका थिए । तर राणा शासनमा पाएको व्यवस्था गणतन्त्रमा खोसिएको छ । चालुआर्थिक वर्षमा बजेट कटौती भएपछि यो सुविधालाई निरन्तरता दिन नसकिने भन्दै स्वास्थ्य मन्त्रालयले हात झिकेको छ । आन्तरिक खर्चले धान्न समस्या हुने भएपछि बिरामीलाई दिइँदै आएको खाजा–खानाको सुविधा कटौती गर्ने तयारी अस्पतालले गरिरहेको छ ।

अस्पतालले अहिले पनि औसतमा पाँच सय बिरामीलाई दैनिक खाना–खाजा खुवाउने गरेको छ । बिरामीहरुलाई दाल, भात, दुध, अन्डासँगै कुखुराको मासु खुुवाउने गरिन्छ । गत आर्थिक वर्षसम्म सरकारले वार्षिक एक करोड ६८ लाख बजेट खाना–खाजाका लागि दिँदै आएको थियो । वीरमा केन्द्रबाट आउने कुल बजेट एक अर्ब ४३ करोड हो । अहिले बेड संख्या पनि थपेर पाँच सयबाट नौ सय बनाइएको छ । तर बजेट भने घटाएर ७३ करोडमा झारिएको छ । खाना–खाजाका लागि मात्र नभइ अक्सिजनको बजेटमा समेत मन्त्री बस्नेतले कैंची चलाएका छन् । सरकारले छुट्याएको बजेट केन्द्र सरकारले नै नियुक्त गरेका कर्मचारीकै तलबमा ठिक्क हुन्छ ।

अस्पतालको मासिक तीन करोड आम्दानी हुँदा खर्च पनि त्यही बराबर छ । साउनयता खाना र अक्सिजन अस्पतालले उधारोमा ल्याइरहेको छ । सप्लायर्सले निहुँ खोजे दुबै सुविधा बन्द हुने चिन्तामा अस्पताल छ । मन्त्री बस्नेतको लाचारीले अस्पतालको खाजा–खाना निल्नु न ओकल्नुको अवस्थामा छ भने अक्सिजन अभावले अस्पतालकै घाँटी थिचिने अवस्थामा छ । विज्ञहरु भने सरकारको यो कदम गलत भएको बताउँछन् ।

सार्वजनिक मञ्च पाउने बित्तिकै वीर अस्पताल नसुधारी देशको स्वास्थ्य अवस्था नसुध्रिने बताउने मन्त्री बस्नेत त्यही अस्पतालको बजेट कटौती गरेर स्वास्थ्यमा क्रान्तिको सपना देखिरहेका छन् । मन्त्री बस्नेत फगत स्टन्टमा सीमित बन्दा संविधानमै मौलिक हकका रुपमा ग्यारेन्टी गरिएको आधारभूत स्वास्थ्य सेवा पाउनबाट समेत नागरिक बञ्चित हुने अवस्था छ । केही समयअघि मात्रै पनि मन्त्री बस्नेतले वीरका निर्देशक डा। सन्तोष पौडेललाई हटाएर डा। श्रवणकुमार थापालाई नियुक्त गरेका थिए । तर सर्वोच्च अदालतले त्यस निर्णयविरुद्ध अन्तरिम आदेश जारी गरेपछि डा। पौडेल काममा फर्किएका छन् । अदालतको आदेशपछि पौडेल वीरमा फर्किएपछि असन्तुष्ट बनेका मन्त्री बस्नेतले खाना–खाजाको बजेट नदिएको हुनसक्ने कतिपयको बुझाइ छ । मन्त्री बस्नेत भने यसको दोष अर्थ मन्त्रालयलाई दिएर पन्छिन खोजिरहेका छन् ।

आफ्नालाई वीरको निर्देशक नियुक्त गर्न नपाएको झोंक मन्त्रीले उपचार सेवामा आउने बिरामीमाथि पोखेका छन् । अर्थात टाउकेको स्वार्थको सिकार निमुखा जनता भएका छन् भन्दा फरक नपर्ला । उसोतः मन्त्री बस्नेतको ध्यान स्वास्थ्य सुधारभन्दा कर्मचारी चलाउने र आफन्त पोस्नेमा बढी केन्द्रित छ । अस्पतालमा समस्यका चाङ छन् ।

मन्त्री बस्नेत भने वीर अस्पतालको सेवा २४ घण्टा सुरु गरेको भन्दै प्रचार मात्र गरिररहेका छन्, तर काम भइरहेकोबारे उनी आफैँ बेखबर छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको दबाबले निजी अस्पतालहरुले निःशुल्क शैय्या छुट्याउने निर्णय भयो तर कार्यान्वयनबारे चासो छैन । सरकारी अस्पतालमा पत्थरी फाल्न ६ महिना कुनुपर्ने समस्याले निजी अस्पताल मोटाइरहेका छन् । तर पनि मन्त्रीको ध्यान भने एक हुल क्यामेरा बोकेर स्टन्ट गर्ने र आफन्त पोस्नेमै केन्द्रित छ । मन्त्री नियुक्त भएको केही दिनमै उनले अस्पतालका निर्देशकहरु चलाउन थालेका थिए । पछिल्लो समय मन्त्रीको पद सम्हाल्नेबित्तिकै निर्देशकहरुको दिनगन्ती सुरु भइसक्छ । मन्त्री बस्नेतले पनि स्वार्थका लागि बिभिन्न अस्पतालहरुको निर्देशक चलाए । कहिले तलब खुवाउन पैंसा नभएको भन्दै कर्मचारी निष्कासन गर्नेदेखि गृह जिल्लाका भोटरहरुलाई करारमा जागिर खुवाउने, विदेश सयर गराएर राज्य दोहन गर्नेसम्मका काममा मन्त्री बस्नेत रमाइरहेका छन् ।

जथाभावी सरुवा गरे आत्महत्या गर्छु भन्ने कर्मचारीहरुलाई डोरी सरकारले किन्छ मेरै गेटमा आएर झुण्डिनुस् भन्ने अभिव्यक्तिसमेत यीनै मन्त्रीले दिएका थिए । स्वास्थ्यमन्त्री बस्नेत मन्त्रालयका महत्वपूर्ण काम छाडेर सिन्धुपाल्चोकतिरै बढी केन्द्रित हुनु सकारात्मक हो । आफ्नो क्षेत्रका जनता बिरामी पर्दा मन्त्री बस्नेत आफैँ हेलिकोप्टर लिएरसमेत गएका छन् । सिन्धुपाल्चोकका जनताका लागि मन्त्री बस्नेत ठिक छन् तर मन्त्रीका हैसियतमा देशभरका जनतालाई बिर्सन मिल्छ ?