Breaking

नेपालमै सुन्तला बेचेर करोड कमाउँदै (भिडियोसहित)

सुन्तला बेचेरै करोडपति


काठमाडौँ – काभ्रेपलाञ्चोकको पनौती नगरपालिकास्थित सुन्थान गाउँका बासिन्दालाई सुन्तला बेच्न भ्याईनभ्याइ छ । उनीहरुले एकै सिजनमा सुन्तला बेचेर एक करोडभन्दा बढी आम्दानी गर्ने गर्दछन्तर उत्पादन गरेको सुन्तला समयमै बिक्री नहुने किसानको गुनासो छ ।

विगत ३० वर्षदेखि सुन्तला खेती गर्दै आएका सुन्थानका यज्ञबहादुर भण्डारी सुन्तला खेतीले जीवन धानेको बताउँछन् । उनले मकै, तोरी लगाउँदा साठीदेखि सत्तरी हजारसम्म वार्षिक कमाइ हुने सुन्थानमा सुन्तला लगाएपछि ५ लाखसम्म कमाइ भएको बताए। २०५१ सालबाट सुन्तला खेती गरेका भण्डारीले यस पटक पनि दुई लाख ६२ हजारको सुन्तला बिक्री गरेको बताए । नगरपालिकाले सुन्तला खेती गर्ने किसानलाई अनुदान नदिएको उनको गुनासो छ ।

पनौती नगरपालिका वडा नम्बर ९ कै अर्का किसान शहदेव महतले पनि ३ रोपनी जग्गामा सुन्तला खेती गरेकाछन् । अहिले तीन रोपनी जग्गामा डेढ सय सुन्तलाका बोट रहेको र यस वर्ष २ लाख रुपैयाँसम्म आम्दानी हुने आकलन उनले गरेकाछन् । गत वर्षहरुमा किरा लागेका कारण उत्पादनमा ह्रास आएपनि यस वर्ष नगरपालिकाले किरा मार्ने औषधि दिएसँगै सुन्तलाको उत्पादन बढेको उनको भनाइ छ । मकै, तोरी लगायतका बालीहरु लगाउँदा भन्दा सुन्तला खेतीबाट धेरै आम्दानी गरेको किसान महतले बताए ।

कृषिलाई विविधिकरण गरेर कृषि क्षेत्र र किसानका लागि विशिष्टिकृत तरिकाबाट योजना बनाएको नगरपालिकाको भनाइ छ । पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले नगरपालिकाले ५६ हजार नागरिकमध्ये अधिकांश कृषि पेशामै आश्रित रहेको हुदाँ उत्पादनलाई बजारीकरण गर्न आफूहरुले पहल गरिरहेको बताए ।

सुन्थानमा भूकम्पपछिको केही वर्ष सुन्तला उत्पादनमा ह्रास आएपनि पछिल्लो दुई वर्ष यता उत्पादन बढ्दै गएको कृषकहरु बताउँछन् । मकै, तोरी र तरकारी खेती हुने ठाउँमा सुन्तलाले अहिले प्रशस्त ठाउँ पाएका छन् । सुन्थानका डेढ सय घरधुरीमासुन्तलाका बोट रहेका छन् । सुन्तलाखेतीबाट एकै सिजनमा वार्षिक एक करोडभन्दा बढी आम्दानी गरेको किसानहरु बताउँछन् । आत्मनिर्भर बन्दै आइरहेका किसानलाई सरकारको पहलमा सिँचाई, बिषादी, बजारीकरणलगायत कृषी औजारमा सहयोग गर्न सके युवालाई कृषिमा आकर्षित गर्दै वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने समस्यालाई केही हदसम्म रोक्न सकिन्थ्यो कि ?