Breaking

हमास लपेट्दै इजरायल, २० हजार मर्दा पनि युद्ध रोकिएन


काठमाडौँ – गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २० हजार पुगेको छ । यस्तै, ५२ हजार ५८६ जना घाइते भएका छन् । दक्षिणी इजरायलमा हमासको आक्रमणपछि इजरायलले अक्टोबर ७ देखि गाजापट्टीमा हमासविरुद्ध युद्ध सुरु गरेको थियो ।

अक्टोबर ७ मा प्यालेस्टिनी लडाकु हमास समूहले प्यालेस्टाइन मुक्तिका लागि गाजा पट्टीबाट इजरायलमा रकेट र सवारी साधनद्वारा ठूलो आक्रमण सुरु गरे । त्यो आक्रमणमा इजरायली नागरिकको कम्तिमा १२ सय जनाको मृत्यु भयो । हमास लडाकु समूहले गरेको आक्रमणपछि इजरायलले गाजामा अहिले लगातार आक्रमण गरिरहेको छ । जस्मा अहिलेसम्ममा २० हजार जना भन्दामाथिको ज्यान गएको छ । अक्टोबर ७ बाट युद्ध छेडिएको द्वन्द्व अझै मत्थर हुन सकेको छैन । फलत हजारौँ निर्दोष जनताले ज्यान गुमाइरहेका छन् ।

यता युद्धको चपेटा झेली रहेको हमासले युद्धविराम गर्ने हसमतिकासाथ अरबी देशहरुको दौडामा निस्किएका छन् । यतिबेला हमास नेता इस्माइल हानिया गाजा मुद्दाका विषयमा इजिप्टका नेताहरूसँग भेट गरिरहेका छन् । उनको यो भ्रमणलाई इजरायलसँग अस्थायी युद्धविरामका लागि वार्ता सुरु गर्ने पछिल्लो संकेतका रूपमा हेरिएको छ । इजिप्टले गत महिना दुई पक्षबीचको अस्थायी युद्धविरामका लागि मध्यस्थतामा महत्त्वपूर्ण भूमिका खेलेको थियो । केही रिपोर्टका अनुसार इजरायलले हमासले अब रिहा गर्ने इजरायली बन्धकमा महिला र कमजोर पुरुष पनि पर्नुपर्ने कुरा बारम्बार दोहो¥याइरहेको छ ।
यससँगै गम्भीर मुद्दामा जेलमा रहेका प्यालेस्टिनीको रिहाइ पनि सम्भव देखिन्छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमा अचानक आक्रमण गरी २०० भन्दा बढी इजरायली नागरिकलाई अपहरण गरी लगेका थिए । त्यसो त यसमा नेपाली विपिन जोशी पनि परेका छन् । पुनः युद्धविराम भई बन्धक रिहा गरिए जोशी पनि छुट्ने आशा गर्न सकिन्छ । तर यो युद्धविराम हुन्छ या हुन्न भन्न सकिन्ने निश्चित छैन । यता इजरायलले भने हमासलाई समाप्त नपारेसम्म युद्ध नरोकिने बाचा नै गरेर हमासमाथि बमबारी गरिरहेको छ । यस युद्धले विश्वलाई नै त्रसित बनाएको छ । कतै यो हिंसात्मक आक्रमणको ज्वाला अन्य देशमा पनि सल्किने त होइन ? शक्तिशाली राष्ट्रहरूको शक्ति–संघर्षले तेस्रो विश्वयुद्ध त निम्तिने होइन ? यी प्रश्नहरु यतिबेला उठिरहेका बेला यसलाई समाधान गर्दै शान्ति कायम गर्ने विषयमा छिमेकी राष्ट्रहरुले मध्यस्तता गरिरहेका छन् । तर इजरायल हमासबीचको संघर्षले कुन मोड लिन्छ ? अहिले नै यसै भन्न सक्ने अवस्था छैन ।