Breaking

आक्रामक देउवा, मधेशमा शेखरलाई निषेध


काठमाडौँ-पार्टीलाई सशक्त र उर्जा थप्न सम्मेलन भन्दै जिल्ला र प्रदेशको दौडाहा गरिरहेको कांग्रेस झन्झन् विवादित बन्दै गएको छ । कार्यकर्तालाई एक ढिक्का हुनु पर्छ भन्दै भाषणबाजी गर्ने पार्टीका शीर्ष नेताहरू नै एक अर्कालाई पेल्ने रस्साकस्सीमा लाग्दा पार्टी एकतामा अवरोध आउने देखिएको छ ।
फुर्सदमा रहेको गोरुले आफ्नो सिङ तिखारे झै नेपाली कांग्रेस अहिले पार्टी तिखार्न जिल्लादेखि प्रदेश सम्मेलनको दौडाहामा छ । नुवाकोट, पाल्पा हुँदै लुम्बिनी र गण्डकी प्रदेशमा सम्मेलन सम्पन्न गरिसकेको कांग्रेसले बिहीबारदेखि दुई दिनसम्म चल्ने गरि मधेश प्रदेशमा पनि सम्मेलन सञ्चालन गरेको छ । तर, पार्टीलाई मजबुत बनाउन गरिएका यस्ता सम्मेलनले पार्टीमा उर्जा थप्ने भन्दा पनि झन् विवादित बनाउँदै लगेको छ । नुवाकोटमा अर्जुननरसिंह केसीलाई ठूलो वरियतामा राखेको भन्दै विवाद चुलिँदा पाल्पामा नगरपालिकाको भवनलाई नै पार्टीको भवन झै गरेर कार्यक्रम गर्दा महामन्त्री गगन थापाले माफी नै माग्नु प¥यो ।

त्यस्तै लुम्बिीनमा मानव तस्करको अभियोगमा जेलमा चलान भएका बालकृष्ण खाँणलाई सम्मानीत गर्दा ठूलै आलोचनाको शिकार भएको कांग्रेस गण्डकीमा पनि भ्रष्टाचारबाट कांग्रेस जोगाउ भनेर टासिसकेको व्यानरमा टेप लगाउन बाध्य हुनु प¥यो । मधेशमा त झन् कांग्रेसको संस्थापन पक्ष र इतर पक्षबीचको आन्तरिक द्वन्द्व छताछुल्ल नै भएको छ । गण्डकीमा सभापति देउवासँगै अघिल्लो सोफामा बसेका कांग्रेस वरियताको २६ औं स्थानमा रहेका डा.शेखर कोइरालालाई मधेशमा सभापतिपछि नराखेको भन्दै कोइराला पक्षका नेताहरूले सम्मेलन नै बहिष्कार गर्न पुगे । सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै मर्यादाक्रमलाई लिएर किचलो देखिदा सम्मेलनमा पुगेका पूर्वउपसभापति तथा मधेशमा पार्टीका मसिहा नेता बिमलेन्द्र निधि पनि मञ्च छोडेर दर्शकदीर्घामा नै बसे ।

गण्डकीमा र जिल्ला जिल्लामा पनि शेखरलाई प्राथमिकतामा राख्दा हैसियतभन्दा माथि उठेर संगठन कब्जा गर्न लागिपरेको भान परेपछि संस्थापन पक्षलाई टाउको दुखाई बनेको छ ।
पार्टीको सम्मेलन नै आफ्नो राजनीतिक विरासत जोगाउने र हैसियत देखाउने ठाउँ हुँदा अहिले प्रदेश र जिल्लाको सम्मेलनमा हरकोही शीर्ष नेतृत्वहरू धमाधम जुटिरहेका छन् । कांग्रेस सबै मिल्ने हो भने पार्टीलाई कसैले हराउन नसक्ने भन्दै हुंकार गर्नेहरूको सम्बन्ध दिनप्रति दिन बिग्रदो घटनाक्रमले देखिईनै रहेको छ । मञ्चमा कार्यकर्तालाई एक ढिक्का हुनुपर्छ भन्दै भाषण गर्नेहरूको टकराव यसरी चिरिएको छ कि प्रदेश सम्मेलनको कार्यक्रम नै बहिष्कार गर्नु पर्ने अवस्थामा प्रभावशाली नेता पुगेका छन् ।


संगठन बलियो बनाउनका लागि यी र यस्ता सम्मेलनले कांग्रेसमा उर्जा जगाउनु पर्ने हो । तल्लोस्तरमा पनि सकारात्मक सन्देश छर्नु पथ्र्यो । तर, नेताहरूले देखाएको गतिविधिले कांग्रेसभित्रको आन्तरिक विवाद झनै छताछुल्ल पारिदिएको छ । केन्द्रीय सभापति देउवा उपस्थित सम्मेलनको उद्घाटनस्थलमै कोइराला पक्षले पम्प्लेटसहित विरोध प्रदर्शन गर्नु, पार्टीकै नेताले सार्वजनिक कार्यक्रममा प्रदेश सभापतिमाथि नै भ्रष्टाचारको आरोप लगाउनुले कांग्रेस र मधेश प्रदेशको सम्बन्धमा अवरोध आउने संकेत देखिएको छ । मञ्चमा बस्दा नै दुई तिर फर्किएर बस्ने संस्थापन र इतर पक्ष फुट्ने पनि आफँै, फुटाउने पनि आफैँ, हुँदा एकअर्काबीच रस्साकस्सी चलिरहेको छ ।