खेलकुद

चण्डेश्वरी माविलाई राष्ट्रपति रनिङ सिल्डको उपाधि


काठमाडौँ — रामेछापस्थित उमाकुण्ड गाउँपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उपाधि चण्डेश्वरी मावि प्रीतिले जितेको छ। चण्डेश्वरीले पाँच स्वर्ण, ६ रजत र ६ कांस्य जितेको छ।

दोस्रो स्थानमा कैलेश्वर मावि गुप्तेश्वरले पाँच स्वर्ण, पाँच रजत र ६ कांस्य जितेको छ। तेस्रो बनेको सिद्धेश्वर मावि बाम्तीले पाँच स्वर्ण, पाँच रजत र २ कांस्य पदक जितेको छ।

महालंगुर मावि गुम्देलले पाँच स्वर्ण, दुई रजत र चार कांस्य, कास्थेम मावि भुजीले चार स्वर्ण, ६ रजत र आठ कांस्य, जनता मावि कुबुँकास्थलीले तीन स्वर्ण, चार रजत र तीन कांस्य तथा सरस्वती मावि सुनुवारधाराले तीन स्वर्ण, दुई रजत र पाँच कांस्य जितेका छन्।

प्रतियोगितामा १७ पदक जितेको चण्डेश्वरी माविले २० हजार, १६ पदक जितेको कैलेश्वर माविले १५ हजार, १२ पदक जितेको सिद्धेश्वर माविले १० हजार र ११ पदक जितेको महालंगुर माविले पाँच हजार पुरस्कार प्राप्त गरेको वडा नम्बर १ का वडाध्यक्ष ङावातिन्डु शेर्पाले बताए।

विजेता खेलाडीलाई सिल्ड, मेडल, प्रमाणपत्र नगद पुरस्कारबाट पुरस्कृत गरिएको छ। गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारको प्रमुख आतिथ्यता र गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष सुदीप सुनुवारको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो।

स्थानीय टोल विकास समितिलगायत युवाहरूको सहयोगमा प्रतियोगिता व्यस्थापन गरिएको वडाध्यक्ष शेर्पाले बताए। प्रतियोगिता अर्को वर्ष वडा नम्बर २ बाम्तीले आयोजना गर्ने भएको छ। वडा नम्बर १ गम्देलले बाम्तीलाई झन्डासमेत हस्तान्तरण गरेको शेर्पाले बताए।