Breaking

नेपालमा हिन्दूराज्य माग्दै भारतमा आन्दोलन, राष्ट्रपतिलाई नै ज्ञापनपत्र, के चाहन्छन् मोदी ? (भिडियोसहित)


काठमाडौँ – नेपालमा हुने प्रायः राजनीतिक र गैरराजनीतिक गतिविधिमा भारतको सम्लग्नता देखिन्छ । भारतले अनावश्यक हस्तक्षेप गरेको आरोप पनि लाग्दै आएको छ । हिन्दुधर्म र राजसंस्था पुनःस्थापनाको आन्दोलनमा पनि भारत मुछिएको छ ।

पछिल्ला समय नेपालका सडकहरूमा हिन्दू राष्ट्र घोषणा र राजसंस्था पुनः स्थापनाको माग गर्दै आन्दोलन चर्किरहेको छ । नेपालमा राजसंस्था पुनस्र्थापना र हिन्दू राष्ट्र घोषणाको माग भइरहेको बेला भारतमा समेत नेपालमा हिन्दु राष्ट्रको माग गर्दै विभिन्न कार्यक्रमहरु हुन थालेका छन् ।

जय श्रीराम सेना संगठन र आदित्य वाहिनी नामक दुई हिन्दूवादी संगठनले ‘समर्थन यात्रा’सँगै राज्यपालमार्फत भारतका राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएका छन् । ती संस्थाको ज्ञापनपत्रमा वर्तमान सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रको आलोचना गरिनुका साथै नेपाली नागरिकको चाहना अनुसार नेपाललाई हिन्दूराष्ट्र बनाउन भारत सरकारले समर्थन गर्नुपर्ने माग गरिएको छ ।

नेपाल धर्मनिरपेक्ष भएपछि धर्मान्तरण बढेको दाबी गरिएको छ भने चीनको हस्तक्षेप बढेको र नेपालको अस्तित्व रक्षाका लागि पनि हिन्दूराष्ट्र र राजसंस्थाको आवश्यकता रहेको दाबी गरिएको छ ।

नेपालमा विभिन्न समूहहरूले हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापनाको माग गरिरहेका बेला भारतमा पनि हिन्दूवादी संस्थाहरूले त्यसको समर्थनमा कार्यक्रमहरू गर्ने गरेका उदाहरण प्रशस्तै भेटिएका छन् । त्यसलाई नेपालमा हिन्दूराष्ट्र तथा राजसंस्था पुनस्र्थापनाको माग गर्नेहरूले ‘नागरिक तहको सद्भावपूर्ण समर्थन’ भन्ने गरेका छन् भने, गणतन्त्रवादीहरूले आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको संज्ञा दिएका छन् । विशेषगरी नेपालको तराई क्षेत्रमा भएका पछिल्ला साम्प्रदायिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई पनि भारतमा भइरहेका ती घटनासँग जोडेर हेर्ने गरिएको छ ।

नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने भारतीय संगठनहरूको कुनै न कुनै रूपमा नेपालका हिन्दूवादी संस्थाहरूसँग सम्बन्ध रहेकाले पनि आशंका गर्नेहरूलाई बल पुगेको छ । यता, हिन्दू राष्ट्र र राजसंस्था पुनस्र्थापनाका लागि राप्रपा, राप्रपा नेपाल र दुर्गा प्रसाईँहरु बीच प्रतिष्पर्धा नै चलेको छ ।

भारतको सत्ताधारी हिन्दूवादी दल भारतीय जनता पार्टीसँग कुनै न कुनै रूपमा सम्बन्ध भएका हिन्दूवादी संघसंस्थाहरू नै नेपालमा हिन्दूराष्ट्र पुनस्र्थापनाको मागमा अघि बढेको बताउँछन् । यसमा भाजपा सरकारको ‘मौन समर्थन’ रहेको प्रष्ट देखिन्छ । राजावादी र गणतन्त्रवादीको चेपुवामा जनता पर्ने स्थिति देखिदैछ । राजनीतिक विश्लेषकहरू भने अब नेपालमा सजिलै हिन्दू राष्ट्र आउने बाटोमा प्रचण्ड–देउवा नै लाग्ने दाबी गरिरहेका छन् ।

तत्कालीन ७ दल र माओवादीबीच १२बुँदे समझदारी भारतमै भएको थियो । अहिले हिन्दुधर्मबारे पनि भारतमा गतिविधि भइरहनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेसका सांसद नै हिन्दु धर्मबारे खुलेर वकालत गरिरहेका छन् ।

नेपाल र भारतबीच विगतदेखि नै रोटीबेटीको सम्बन्ध रहेको चर्चा गरिँदै आएको छ । त्यो भन्दा बढी नेपालको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गरेको आरोप छ । नेपाली नेताहरु सर्पदेखे दुला बाहिर हात र माछा देखे दुलोभित्र हातको रणनीतिमा देखिन्छन । नेपालको सत्ता परिवर्तनमा भारतको भूमिका रहने गरेको स्वयं सत्ता संचालन गरिसकेका उच्च अधिकारीहरू नै स्वीकार्छन । आन्दोलन समेत विदेशीले नै उठाइदिने गरेको आरोप पनि लाग्दै आएको छ ।