Breaking

विद्यार्थी कुटाउने ह्वाइट हाउस कलेज, अभिभावक आन्दोलित, प्रहरी बिटमा नारा– ‘वि वान्ट जस्टिस’


काठमाडौँ – काठमाडौँको तीनकुनेस्थित हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कजेलमा अनुशासन इन्चार्ज (डीआई) बाटै छात्रामाथि यौन दुव्र्यवहार भएपछि अवस्था तनावग्रस्त बनेको छ । डीआईलाई कारवाहीको माग गर्दै प्रर्दशनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले मुक्का बर्साएपछि अर्को तनाब थपियो ।

स्कुले ड्रेसमा प्रहरीको मुक्का भेटेको यो दृश्य काठमाडौंको तिनकुनेस्थित हिमालय ह्वाइट हाउस कलेजको हो । दृश्यमा कक्षा कोठामा हुनुपर्ने विद्यार्थीहरु आन्दोलनकारीको भेषमा देखिन्छन् । यताबाट साथीले प्रहरीसँग नभिड भन्न खोजेको देखिन्छ । तर छाती खोलेर प्रहरीको अगाडि जाने एक विद्यार्थीलाई प्रहरी जवानले मिलाइ मिलाइ मुक्का बर्जाछन् ।

कलेजका अनुशासन इन्चार्ज (डीआई) नै अनुशासनहीन परेपछि कस्को के लाग्यो । डीआई कृष्ण नेपाल विद्यार्थीमाथि यौन दुव्र्यवहारजस्तो निच हर्कतमा संलग्न रहेछन् । परीक्षा चलिरहेका बेला चेकजाँचका नाममा छात्राहरूको संवेदनशील अंगमा हात हाल्नेदेखि कपाल लुछ्नेसम्मको आरोप उनीमाथि लागेको छ । ती नैतिकहीन डीआईलाई कारबाहीको माग गर्दा केही छात्रले प्रहरीको मुक्का भेटे । डीआई र विद्यार्थीलाई मुक्का हान्ने प्रहरीलाई कारबाही गर्न माग गर्दै विद्यार्थीहरुले बुधबार फेरि प्रहरी वृत्त नयाँ बानेश्वर घेरे ।

कक्षा १२ मा पढ्ने छात्रामाथि डीआईले यौन दव्र्यवहार गरेको घटना बाहिर आएपछि विद्यार्थीहरुले कलेज प्रशासनमा उजुरी गरेका थिए । तर प्रशासनले कारबाही गर्नुको साटो यो घटना बाहिर ल्याए विद्यार्थीलाई निस्कासन गर्ने, फेल गराइदिने धम्की दिएको विद्यार्थीहरुको आरोप छ । प्रहरीमा उजुरी गर्दा उल्टै प्रहरीले विद्यार्थीमाथि कुटपिट गरेको उनीहरुले गुनासो गरे । विद्यार्थीले डीआईलाई बर्खास्त गर्न माग गरेका छन् ।

हुन पनि उपत्यकाका कलेजहरुमा विद्यार्थी तह लगाउन बाउन्सरको शैलीमा डीआई राख्ने परिपाटी नै बनेको छ । ह्वाइटहाउसका डीआईको छवि यसअघि पनि ठिक नभएको विद्यार्थीहरु बताउँछन् । अनुशासन आफैँमा विद्यार्थीको गहना हो । तर कर्तव्य पालना गराउने निहुँमा कलेजभित्र मौलाएको यो प्रवृतिले नेपालको शिक्षालयमा भित्रिएको एउटा बेथितिको उजागर गरेको छ । यसलाई कलेजहरुमा थपिएको नयाँ विधा पनि भन्न सकिन्छ ।

विद्यालय प्रशासन भने दुव्र्यवहारको मुद्दामा कानुनअनुसार सहयोग गर्न तयार रहेको भन्दै पन्छिएको छ । केही दिनअघि मात्रै कलेजको क्यान्टिनमा हमला भएको र कलेजबाट निस्कासित सेयर धनीहरुले नियोजित रुपमा यस्ता घटना घटाएको भन्दै कलेज प्रशासन पन्छिएको हो । प्रहरी बोलाएर विद्यार्थी कुट्न लगाएको आरोपको भने कलेजले आफैँले खण्डन गरेको छ ।

अभिभावकहरुले भने आफ्ना छोराछोरी कुटिँदासमेत कलेज प्रशासनसँग कुरै गर्न नपाएको गुनासो गरेका छन् । विद्यालय आफैंमा पवित्र र शान्ति क्षेत्र हो । तर सुरक्षाका नाममा छात्राहरुलाई विद्याको मन्दिरमै गिद्देनजर लागेको घटना ह्वाइट हाउसबाहेक काठमाडौंका अन्य कलेजहरुमासमेत पटक पटक भइसकेका छन् ।

सुरक्षाका लागि खटिएका प्रहरीले शान्ति सुरक्षा कायम गर्ने नाउमा किशोर उमेरका विद्यार्थीमाथि मुक्का प्रहार गर्नु आफैँमा गलत हो । त्यसमाथि दुव्र्यवहारको घटनामा कानुनअनुसार सघाउने बताएको कलेज आफ्नै हाताभित्र आफ्नै विद्यार्थी कुटिदासमेत मुकदर्शक बन्नुु झनै दुःखद् छ । शिक्षाको मन्दिरमा विद्यार्थीमाथि हमला र छात्राहरु असुरक्षित कहिलेसम्म बन्ने ? विद्या आर्जनका लागि महँगो शुल्क तिरेर कलेज धाउने विद्यार्थी विद्यालयकै कमजोरीको सिकार हुन्छन्, अन्यायविरुद्ध आवाज उठाउँदा प्रहरीबाट कुटिन्छन् भने अभिभावकले कुन उद्देश्यले पढाउन पठाउनु ? घरबाट निस्किएकी छोरी विद्यालय हाताभित्रै यौन दुव्र्यवहारको सिकार बन्छिन् भने नैतिकको पाठ पढाउन कहाँ जानु पर्ने हो ? यसको जवाफ सम्बन्धित निकायले दिनै पर्ने हुन्छ । अन्यथा विद्यालय र नाइट क्लबमा तात्विक भिन्नता के भयो र ?