Breaking

बालेन–हर्कको नियति भोग्दै गोपाल, काम गर्न नदिन घेराबन्दी, भन्छन्– राजीनामा दिन्छु (भिडियोसहित)

गोपाल हमाल घेराबन्दीमा


काठमाडौँ – धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरूले मेयर गोपाल हमालले ल्याएको जग्गा प्लटिङ कार्यविधि खारेजीको प्रस्ताव उपमहानगरपालिकामा दर्ता गराएका छन् ।

आफूविरुद्ध दलबाट निर्वाचित जनप्रतिनिधिहरूले घेराबन्दी गरेको र काम गर्न अवरोध गरेको भन्दै स्वतन्त्रबाट निर्वाचित भएर धनगढीको प्रमुख बनेका हमालले राजीनामा दिने संकेत गरेका छन् ।

एक हिसाबले शान्त बसेर आफ्नै ढंगबाट धनगढी उपमहानगरपालिका चलाइरहेका स्वतन्त्रबाट निर्वाचित मेयर गोपाल हिमाल अहिले दबाब महसुस गरिरहेका छन् । बालेन हर्कभन्दा फरक शैलीले काम गरिरहेका मेयर हमालविरुद्ध वडाध्यक्षलगायत नगरकार्यपालिकाका सदस्यहरू गुटबन्दीमा लागेपछि उनी समस्यामा परेका हुन् । धनगढीका नगरप्रमुख हमालले एकलौटी ढंगले जग्गा प्लटिङ्ग सम्बन्धी कार्यविधि २०८० राजपत्रमा प्रकाशित गरेको विरोधमा धनगढी उपमहानगरपालिकाको कार्यपालिका सदस्यहरूले खारेज गराउने निर्णय गरेपछि आफू घेराबन्दीमा परेको महसुस उनले गरेका छन् । कार्यपालिकाको बैठकले गरेको निर्णयलाई गुटबन्दी गरेर होटेलमा गई उल्ट्याउने खेल भएको भन्दै आफ्नो अघिपछि कोही नभएको र कार्यपालिका सदस्यहरूले दलको दम्भ देखाएको हमालको आरोप छ ।

कार्यपालिकाका सदस्यहरूले गरेको उक्त कार्यप्रति आपत्ति जनाएका हमालले यस्ता गतिविधिले काम गर्न नसक्ने बरु राजीनामा नै दिने मनस्थितिमा पुगेका छन् ।

धनगढी उपमहानगरपालिकाको २९ औं कार्यपालिका बैठकमा छलफलका लागि प्रवेश भएको कार्यविधि पारित नहुँदै नगर प्रमुख हमालको एकल निर्णयमा राजपत्रमा प्रकाशित भएको भन्दै मंगलबार कार्यपालिकाका ज्येष्ठ सदस्य मानबहादुर विष्टको अध्यक्षतामा बसेको असन्तुष्ट सदस्यहरूको बैठकमा सर्वसम्मतिले उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेका थिए । अघिल्लो साता मंसिर २४ गते आइतबार बसेको कार्यपालिका बैठकले उक्त कार्यविधि पारित गरेको र सोमबार सो कार्यविधि राजपत्रमा प्रकाशित गरिएको राजपत्रमा प्रकाशित गरेको सूचनामा उल्लेख छ । तर, कार्यपालिका सदस्यहरूले भने सुरुबाटै उक्त कार्यविधिमा विरोध जनाउँदै आइरहेका थिए ।

सदस्यहरूले तत्काल पारित गर्नु भन्दा पनि छलफल गरेर अघि बढ्नु पर्ने बताएका थिए । जसअनुसार बुधबार विवादित जग्गा प्लटिङ कार्यविधि खारेजीका लागि उपमहानगरपालिकामा प्रस्ताव पनि दर्ता गरिएको छ ।

उपमहानगरपालिकाले ल्याएको उक्त कार्यविधि अनुसार अब नयाँ जग्गा प्लटिङ गर्दा जग्गामा बाटोको चौडाइ कम्तीमा १० मिटरको हुनु पर्ने, नयाँ बाटोको घुम्ती वा मोडको न्यूनतम अर्ध व्यास बाटोको चौडाइ भन्दा २० प्रतिशतले बढी हुनुपर्ने व्यवस्था गरिएको छ । नगर प्रमुख हमालले जग्गा प्लटिङ्ग सम्बन्धि बनेको ऐन व्यवसायिक परियोजनाका लागि मात्र बनेको बताउँदै आएका छन् । तर घर जग्गा व्यवसायीले भने मेयरले ल्याएको कार्यविधि व्यवहारिक नभएको भन्दै संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिन चेतावनी दिएका छन् ।

स्वतन्त्रबाट पालिकाका मेयर बनेका बालेन र हर्कको कार्यपालिका सदस्यहरूले विरोध गर्दै आइरहेको भए पनि हमालको हकमा भने यस्ता विवाद अपवाद बन्दै आएको थियो । तर, अहिले हमाल पनि आफ्नै निर्णयबाट विवादित हुन पुगेका छन् । स्वतन्त्रबाट निर्वाचित चर्चित यी तीन अनुहारले अहिले एउटै नियती भोग्नु परेको छ ।