Breaking

राष्ट्रियसभा निर्वाचनका लागि २०४७ जना मतदाताको नामावली स्वीकृत


काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरेको छ । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि कूल २ हजार ४७ जना मतदाताको नामावली स्वीकृत भएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार प्रदेशसभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जनागरी कूल २०४७ जनाको नामावली स्वीकृत भएको हो ।

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको आयोगले जनाएको छ ।