Breaking

देउवाको रिस देखियो, फेरियो ब्यानर, भ्रष्टाचार शब्दले हल्लिखल्ली (भिडियोसहित)

गगन–शेखर साक्षी



काठमाडौँ – मञ्चमा राखिएको ब्यानरकै कारण कांग्रेस सभापति शेरबहादुर देउवा र गण्डकी प्रदेश सभापति शुक्रराज शर्माबीच भनाभन नै पर्‍यो । ब्यानरमा आफ्नो फोटो नराखेका कारण आक्रोशित देउवालाई ‘भ्रष्टाचारबाट पार्टी बचाऔं’ भन्ने नारा झनै पचेन । यत्तिका हर्कत देखाउँदा पनि पार्टी रुपान्तरण पक्षधर भने चुपचाप रमिता हेरिरहे ।
भ्रष्टहरुबाट कांग्रेस जोगाऔँ भन्ने नारा ब्यानरमै देखेपछि कांग्रेस सभापति शेरबहादुर देउवा पोखरामा रन्किए । देउवाको रिस के हो भनेर नदेख्नेहरुले पनि पोखरामा देखेको हुनुपर्छ । हुन त मञ्चमै कार्यकर्ता हप्काउने र केन्द्रीय कमिटीमै नेता थर्काउनेसम्मको उग्रचण्डी देउवाको रुप पोखरामा पनि देखियो । रिसले चुर भएका देउवा र प्रदेश सभापति शुक्रराज शर्माबीच ब्यानरकै बिषयलाई लिएर भनाभन नै पर्‍यो । घटना थियो–कांग्रेस गण्डकी प्रदेशको पहिलो सम्मेलन । सम्मेलनको ब्यानरमा विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं । इमान भएकाहरुलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टी बचाऔं, कांग्रेसी चरित्र पुनः स्थापित गरौं लेखिएको थियो । तर देउवालाई नारा मन परेन । इतर पक्षबाट प्रदेश सभापति बनेका शर्मालाई भने देउवाको त्यो हर्कत मन परेन ।

केहीबेर यो शब्द हटाउनेबारे भनाभन नै पर्‍यो पर्‍यो । श्रोतका अनुसार ब्यानरमा आफ्नो फोटो नराखेकोमा समेत देउवा असन्तुष्ट थिए । तर त्योभन्दा बढी चिन्ता उनलाई भ्रष्टाचार शब्दप्रति थियो । एक दिन अघिमात्रै अन्र्तघातीलाई कारवाही गर्न खोज्दा पार्टीबाटै असहयोग भएको बताएका देउवालाई पार्टी भ्रष्टीकरण हुनबाट जोगाऔँ भन्दा पचेन । फलतः यथार्थतामा हरियो टेप लगाएर पार्टीको लाज ढाकियो । परिवर्तनको हुंकार छाड्ने गगन थापा, डा. शेखर कोइराला र धनराज गुरुङलगायत आफूलाई निष्ठावान दाबी गर्ने नेताहरु देउवाको अगाडि निरिह बने । ती हर्कतको साँची उनीहरु पनि बसे । जसोतसो कार्यक्रम सुरु भएपनि केन्द्रिय र प्रदेश सभापति दुबैका मुख दुईतिर फर्किएको थियो । संगै बस्दा असहज महसुस गरिरहेका थिए ।

मंगलबारको यो घटना पोखरामा मात्रै सिमित पारेर हेर्दा अधुरो हुन्छ । प्रदेश सभापति शर्मा उनै व्यक्ति हुन् जो पार्टीको केन्द्रिय समितिविरुद्ध नै प्रहार गर्दै आएका छन् । पार्टीमा सुशासन र गलत प्रवृतिका विरुद्ध आवाज उठाइरहने शर्माले पार्टीको कार्यक्रममै भ्रष्टाचारविरुद्ध ब्यानर छपाएपछि देउवाले मौका पाएको हुनुपर्छ । देउवालाई बालुवाको थुप्रोका रूपमा चित्रित गर्दै आएका शर्मा कांग्रेस सहि दिशाबाट हिँड्नुपर्ने आवाज उठाउँदै आएका छन् ।
केही दिनअघि मात्रै नेपालीलाई अनागरिक बनाएर करोडौं कमाउने लोभमा परेका पूर्वमन्त्री बालकृष्ण खाण धरौटीमा रिहा भएका थिए । त्यसैको बाछिटास्वरुप ब्यानरमा लेखिएको सो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने देउवाको अनुमान थियो । सोहीकारण उनी रन्किएका हुन् । पार्टीमा समेत खाणको पोजिसन यथावत् राखिएको छ । किनभने देउवा अझैँपनि खाणलाई गलत भन्न तयार छैनन् । अधिवेशनमा पुगेका देउवाले….भने ।

केन्द्रमा देउवाकै उदासीनताले पार्टी गतिहीन छ । पार्टीका निकायहरु देउवाकै कारण निकम्मा बनेका छन् । महामन्त्रीद्वयले बनाएको वार्षिक कार्यतालिका पनि निस्प्रभावीजस्तै छ । १३ मध्ये सात भातृ संस्था तदर्थ समितिको भरमा चलिरहेका छन् । पाँचको नेतृत्व नै छैन । २० औं नम्बरको वरियतामा रहेका डा. शेखर कोइरालाको वरियता विवाद फेरि बढ्न थालेको छ । उपसभापति पूर्णहबहादुर खड्का सहभागि नभएका कार्यक्रममा कोइराला नै देउवापछिको वरियतामा रहने गरेका छन् । प्रदेश र जिल्ला सम्मेलनका लागि पार्टीको देश दौडाह बढ्दा पार्टीलाई भ्रष्टीकरण हुनबाट जोगाउन आएका सुझाव सुनेरै सभापति झोंक्किनुपर्ने लज्जास्पद अवस्था छ । पार्टी रुपान्तरणको हुंकार पिट्ने दोश्रो पुस्ताका भनिएका नेताहरुको मौनता पनि उदेकलाग्दो छ ।