अन्तर्राष्ट्रिय

दाउद इब्राहिमलाई कसले मार्‍यो ? डनको टाउको मूल्य साढे दुई करोड डलर ( भिडियोसहित)

को हुन् अण्डरवर्ल्ड डन दाउद ?


काठमाडौँ – मुम्बई आक्रमणका अभियुक्त एवं अण्डरवल्र्ड डन दाऊद इब्राहिम यतिबेला अस्पताल भर्ना भएका छन् । दाऊद इब्राहिमलाई पाकिस्तानमा विष दिएर मार्न खोजिएको आशंका छ । दाऊदको उपचार अहिले पाकिस्तानको कराँचीस्थित एक अस्पतालमा भइरहेको छ ।

भारतको ‘मस्ट वान्टेड’ सूचीमा रहेका कुख्यात डन, जसको नाम सुन्दा विश्व तरंगित बन्छ । जसको टाउकाको मूल्यमात्रै २ करोड ५० लाख अमेरिकी डलर तोकिएको छ । जो सन् १९९३ को मुम्बई बम विस्फोट र २६–११ आतंकवादी हमलाका ‘मास्टर माइन्ड’ हुन् । उनै अन्डरवल्र्ड डन दाऊद इब्राहिम फेरि एकपटक चर्चा आएका छन् । कारण हो, उनको मृत्युको खबर ।

पाकिस्तानस्थित कराँचीमा दाऊदलाई विष खुवाएर मार्न खोजिएको खबर यतिबेला विश्वभरका मिडियाको हेडलाईन बनेको छ । कतिपय भारतीय सञ्चारमाध्यमले दाऊदको मृत्यु भएको दाबी नै गरेका छन् । भारतीय मिडियाको दाबी अनुसार उनी पाकिस्तानको एक अस्पतालमा उपचार गराईरहेका थिए । त्यहीबेला उनलाई बिष खुवाएर मार्न खोजिएको हो । तर दाऊद निकट स्रोतले यसको खण्डन गर्दै उनी जीवितै रहेको दाबी गरेको छ । फलतः उनलाई विष दिएर मार्न खोजिएको अनेक अड्कलबाजीका बीच आधिकारिक पुष्टि भएको छैन ।

उनका निकट सहयोगी छोटा शकीलले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई दाऊद इब्राहिमको मृत्युको हल्ला अफवाह भएको बताएका छन् । दाऊदको आपराधिक संस्था डी–कम्पनीको विश्वव्यापी ‘अपरेसन’ हेर्ने शकीलले पाकिस्तानमा उनलाई सकुशल अवस्थामै भेटेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ ।

दाऊद ३० वर्षदेखि पाकिस्तानमा लुकेर बसेका छन् र त्यहीँबाट उनी विश्वभरि आफ्नो अवैध व्यापार चलाइरहेका छन् । दाऊदको अवैध व्यापार विश्वका धेरै देशमा फैलिएको छ जसका कारण उनले अर्बौं रुपैयाँको सम्पत्ति कमाएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार सन् १९८० र ९० को दशकमा दाऊदले वेश्यावृत्ति, जुवा र लागुऔषध कारोबारमार्फत अर्बौं रुपैयाँको कालो व्यापार गरेका थिए । अहिले दाउदलाई विश्वव्यापी आतंकवादी संगठन ‘डी कम्पनी’को प्रमुख मानिन्छ । कतिले इब्राहिम भारतका भगौडा भन्छन् । उनी सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटका आरोपी हुन् । मुम्बईमा भएको श्रृङ्खलाबद्ध आक्रमणमा २ सय ५० भन्दा धेरै मानिसको मृत्यु भएको थियो । उक्ट घटनामा हजारौँ मानिस घाइते भएका थिए । घटनापछि भारत र अमेरिकाले उनलाई आतंकवादी घोषित गरेको थियो । त्यसयता दाउदलाई पाकिस्तानले शरण दिएर राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

कति छ दाउदको सम्पत्ति ?

सञ्चारमाध्यमका अनुसार दाऊद इब्राहिम अहिलेसम्मकै सबैभन्दा धनी ग्याङस्टारमध्ये एक हुन् । २०१५ मा दाऊदको कुल सम्पत्ति ६ अर्ब ७० करोड अमेरिकी डलर (लगभग ६ खर्ब ६६ अर्ब भारतीय रुपैयाँ) रहेको अनुमान गरिएको थियो । मिडिया रिपोर्टका अनुसार दाऊदको पाकिस्तानी सहरमा ३ वटा आलिशान घर पनि छन् । दाऊद कराँचीको डी–१३, ब्लक–४, क्लिफ्टनमा रहेको ६ हजार वर्गफिटमा फैलिएको आलिशान बंगलामा बस्ने दाबी गरिएको छ । यो कराँचीको नो–ट्रेस जोन हो र यसलाई पाकिस्तानी रेन्जर्सले कडा सुरक्षा दिएर राखेको छ । दाऊदको धेरै सहरमा करोडौंको सम्पत्ति रहेको विश्वास गरिन्छ ।
दाउदको नाममा एउटा होटल (दाऊद इब्राहिम होटल) पनि छ । जुन अहिले जफत गरिएको छ । मुम्बई र अन्य सहरहरुमा दाऊदको धेरै सम्पत्ति जफत गरिएको छ ।

दाऊदको दुबईमा पनि धेरै सम्पत्ति छ । दाऊदसँग मुम्बईमा हुन्डाई एक्सेन्ट सेडान कार पनि थियो, जुन सरकारले जफत गरेको छ । सन् १९९३ को मुम्बई बम विस्फोट गराउनुबाहेक दाऊदको ओसामा बिन लादेन र प्रतिबन्धित आतंकवादी संगठन अल कायदाका अयमान अल जवाहिरीसँग पनि घनिष्ठ सम्बन्ध थियो । दाऊदलाई संयुक्त राष्ट्र सुरक्षा परिषद्को आइएस र अल–कायदा प्रतिबन्ध समितिले विश्वव्यापी आतंकवादी घोषणा गरेको छ । दाऊद इब्राहिमको युरोप, अफ्रिका र दक्षिण एसियाका एक दर्जनभन्दा बढी देशमा सम्पत्ति छ । बेलायतमा मात्रै उनको ४५ करोड अमेरिकी डलर बराबरको सम्पति छ । दाऊदले विश्वका विभिन्न देशमा ५० भन्दा बढी व्यवसायमा लगानी गरेको बताइएको छ । दाऊदको व्यापार भारत, पाकिस्तान, बेलायत, जर्मनी, टर्की, फ्रान्स, स्पेन, मोरक्को, साइप्रस, संयुक्त अरब इमिरेट्स, दक्षिण अफ्रिका, श्रीलंका, नेपाल, थाइल्याण्ड, मलेसिया र सिंगापुरसम्म फैलिएको छ ।