Breaking

एनएसएलमा आज २ खेल, पोखरा र ललितपुरलाई प्लेअफ पुग्ने मौका, इलाम अन्तिम खेल खेल्दै


काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज दुई खेल हुँदैछ ।

आज पोखरा थण्डर्स र ललितपुर सिटी एफसीलाई शीर्ष स्थानमा उक्लेन अवसर छ भने एनएसएलको नयाँ टोली स्पोर्टिङ इलाम आफ्नो अन्तिम खेल खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो तीन बजे हुने खेलमा इलामले ललितपुर सिटीको सामना गर्नेछ ।

यस सिजन अपराजित दुईमध्ये एक ललितपुर ६ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा छ । ललितपुरले २ जित हात पार्दा ४ बराबरी खेलेको थियो । आजको खेल जितेमा ललितपुर १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लने अवसर छ । ६ खेलबाट १२ अंकसहित धनगढी शीर्ष स्थानमा छ ।

उता ७ खेल खेलिसकेको इलाम पाँच अंकसहित पुछारमा छ । यसअघि नै प्लेअफ होडबाट बाहिरिसकेको इलामको लागि आज अन्तिम खेल प्रतिष्ठाको लागि मात्रै हुनेछ । इलामले अहिलेसम्म ७ खेल खेल्दा जम्मा एक खेल मात्र जितेको छ भने २ खेल बराबरी गरेको थियो । चार खेलमा इलाम पराजित भएको थियो ।

यस्तै दशरथ रंगशालमै साँझ ५ बजे बुटवल लुम्बिनी एफसी र पोखरा थण्डर्सबीच खेल हुनेछ । पोखरा ६ खेलबाट तीन जित दुई बराबरी र एक हारको नतिजासहित ११ अंक जोडेर दोस्रो स्थानमा छ । पोखरासामु आजको खेल जित्दै शीर्ष स्थानमा उक्लेर प्लेअफमा स्थान सुरक्षित गर्ने अवसर छ ।

पहिलो खेलको नतिजा जे भएपनि बुटवललाई हराएमा पोखरा शीर्ष स्थानमा उक्लनेछ ।

उता बुटवल लुम्बिनीलाई पनि शीर्ष चारको दाबेदारी कायम राख्न आजको खेल जित्नैपर्ने अवस्था छ । बुटबलको ६ खेलबाट सात अंकछ र छैटौं स्थानमा छ । आजको खेलमा पराजित भएका बुटवलको शीर्ष चारको सम्भावना लगभग सकिनेछ ।