Breaking

भारतको संसदमा विपक्षीको हंगामा, मोदी सरकार आक्रामक (भिडियोसहित)


काठमाडौँ – भारतको लोक सभाको संसद बैठकमा कुदेका दुई व्यक्तिले स्प्रे प्रहार गरेपछि तनाबको स्थिती सृजना भएको छ ।

घटनापछि सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै विपक्षी दलले विरोध जनाउँदा भारतको दुवै सदन अझै अबरुद्ध छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताउँदै ‘बृहत् अनुसन्धान’ हुने बताएकाछन् । निरन्तरको संसद अबरोध पछि ९२ जना सांसद निलम्बनमा परेका छन् ।

गत साता भारतको लोक सभामा दर्शकदीर्घाबाट हामफाल्दै अचानक दुई व्यक्तिले हंगामा मच्चाए । बैठक चलिहेका बेला संसदमा कुदेका दुई व्यक्तिले स्प्रे प्रहार गरेपछि लोकसभामा केहीबेर आतंक नै मच्चिएको थियो । लोकसभाको हिउँदे अधिवेशन अन्तर्गत बैठकमा सांसदहरुले बोल्ने क्रम जारी रहेका बेला दर्शकदीर्घाबाट हाम्फालेका दुई जनाले कलर स्प्रे प्रहार गरेपछि बैठकमा भागाभागको स्थिति बनेको थियो । सो घटनाको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । उनले भारतीय संसदको तल्लो सदन लोकसभामा भएको सुरक्षा उल्लङ्घनको टना ‘अत्यन्त गम्भीर’ भएको बताउँदै घटनाको ‘बृहत् अनुसन्धान’ हुने बताए । मोदीले यस विषयमा बहस गर्नुपर्ने आवश्यकता नरहेको तर यसको पछाडि रहेका व्यक्तिहरू पत्ता लगाउन ‘बृहत् अनुसन्धान’ आवश्यक रहेको बताएका हुन् ।

आक्रमणको समयमा प्रधानमन्त्री नरेन्द्र मोदी भने हलभित्र थिएनन् । घटनालगत्तै संसद बैठक स्थगित गरिएको थियो । सो घटनाको बिषयलाई लिएर प्रतिपक्षीहरु अझै बिरोधमा उत्रिएका छन् । सांसदहरुले सो घटनामा राजनीति गरिएकोे भन्दै संसद चल्न दिएका छैनन् । सरकारले यस विषयमा राजनीति गरिरहेको विपक्षी दलको आरोप छ । तर निरन्तरको संसद अबरोध पछि केही सांसदलाई संसदले कारबाही अघि बढाएको छ । लोकसभा र राज्य सभा दुवैमा विपक्षी सांसदहरुले निरन्तर विरोध गरेपछि ७८ सांसदलाई निलम्बन गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लोकसभाका सभामुख ओम बिडलाले ३३ लोकसभा सांसदलाई निलम्बन गरेका हुन् । यस्तै राज्य सभाका सभापति जगदीप धनखडले ४५ विपक्षी सांसदलाई डिसेम्बर २२ सम्मका लागि निलम्बन गरेका छन् । यसअघि डिसेम्बर १४ मा लोकसभाका १३ सांसदलाई निलम्बन गरिएको थियो । यस्तै राज्यसभाका एक सांसद निलम्बित भएका थिए । योसँगै जारी हिउँदे अधिवेशनमा निलम्बित हुने सांसदको संख्या ९२ पुगेको छ । सांसद निलम्बनपछि लोकसभाको बैठक मंगलबारसम्म स्थगित गरिएको छ ।

घटनालगतै पक्राउ गरेका आक्रमणकारीहरुको अनुसन्धान अघि बढेको दिल्ली प्रहरीले जनाएको छ । सांसदहरुले भारतीय संसदमा फेरि एक पटक आक्रमणको प्रयास भएको बताएका थिए । लगतै प्रतिपक्ष दलको अवरोधका कारण भारतको दुवै सदनको बैठक अवरुद्ध भएको छ । लोकसभामा हिउँदे अधिवेशन चलिरहेका बेला दुई ब्यक्ति कुदेको घटनापछि सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै विपक्षी दलले विरोध जनाउँदा भारतको लोकसभा र राज्यसभाको बैठक अवरुद्ध भएको हो । प्रतिपक्ष दलले सुरक्षा कमजोरीको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गर्दै आएका छन्। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले सदन बाहिर बयान दिए पनि सदनभित्र बोल्न तयार नभएको भन्दै प्रतिपक्ष दल रुष्ट बनेका छन् । घटनामा संलग्न चार जनाबाहेक संदिग्ध अन्य दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले अनुसन्धानकर्ताहरूलाई आफ्नो उद्देश्य मणिपुर हिंसा, बेरोजगारी र किसानहरूको समस्याप्रति ध्यान आकर्षित गर्नु रहेको बताएका छन् । विपक्षी सांसदहरूले सङ्घीय गृहमन्त्री अमित शाहसँग संसदभित्र भएको सुरक्षा उल्लङ्घनबारे बयान दिन माग गर्दै आएका छन् । लोकसभाका सभामुखले उच्चस्तरीय छानबिन समिति गठन गरेका छन् ।

सन् २००१ मा भारतीय संसद भवन अगाडि १४ जनाको ज्यान जाने गरी भएको आतंककारी हमलाको बर्षगाँठको दिन पारेर गत साता भारतको संसदमा आक्रमणको प्रयास भएको हो ।